झापा , मंसिर १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रपुरको पाचौँ नगर अधिवेशनले राजकुमार राईको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राप्रपाका सहायक महामन्त्री भारतेन्दुकुमार मल्लिक, केन्द्रीय सदस्यहरु अञ्जार आलम,डि.वि. थापा , प्रदेश सभा सदस्य निमसरी राजवंशी, राप्रपा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, सचिव अभिषेक ढुंगाना, कुमार थापा, पूर्व प्रहरी संगठनका अध्यक्ष अम्विका पोखरेल, भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनलगायत जिल्ला ,प्रदेश, क्षेत्रलगायत पार्टीका विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङ्देनले देशलाई विकास गर्ने एकमात्र वैकल्पिक पार्टी राप्रपा भएको भन्दै नवनिर्वाचित कार्यसमितिलाई इमान्दार भएर देश र जनताको पक्षमा काम गर्न शुभकामना दिएका थिए।

कार्यक्रममा पार्टीका अग्रज व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो भने विभिन्न पार्टी परित्याग गरी करिब ८० जनाले राप्रपा प्रवेश गरेका थिए। भद्रपुर नगर संयोजक सीता लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन माधव पोखरेलले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्