झापा, मंसिर १६ । झापाको कनकाई ६ मा वडाध्यक्ष पदको लागि भएको मतदानमा कुल १५१३ मत खसेको छ ।
जम्मा २०५८ मतदाता रहेको सो वडामा पुरुष ६८९ र महिला ८२४ गरी कुल १५१३ अर्थात ७३.५१ प्रतिशत खसेको हो । बिहान ७ बजेदेखि शुरु भएको मतदानको समय बेलुका ५ बजेसम्मका लागि तोकिएको थियो । निर्वाचनमा ८ राजनीतिक दल र एक स्वतन्त्र गरी ९ जना उम्मेद्वार निर्वाचनमा होमिएका छन् ।
आजै मतगणना गरिने बताइएको छ । मतगणना कतिखेर शुरु गर्ने भन्ने विषयमा छलफल गर्न अहिले सर्वदलीय बैठक चलिरहेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले बताए । गत असार २ गते यस वडाका वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भइरहेको हो ।