झापा, मंसिर १८ । झापाको मेचीनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज दिउँसो अन्दाजी .१२ः३० बजे मेचीनगर नगरपालिका वडा नं.१३ तेलिबारीस्थित पूर्वपश्चिम राजमार्गमा बागमती प्र–०१– ००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक भद्रपुर नगरपालिका वडा नं.१० सहिद चोक बस्ने अन्दाजी ५५ वर्षीय किसन न्यौपाने घाइते भएका थिए ।धुलाबारीबाट चारआलीतर्फ आउँदै गरेको सो बसले बिपरित दिशाबाट जाँदै गरेको मोटरसाइकलले बाटो क्रस गर्न खोज्दा ठक्कर दिएको बताइएको छ ।

घाइते न्यौपानेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा अस्पताल ल्याइपुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका छन् । बस, बस चालक उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं.६ बस्ने अन्दाजी ४२ वर्षीय बिजयकुमार यादव र मोटरसाइकल इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झापामा दुर्घटनामा परी घाइते भएका तीन जनाको हिजो मात्र मृत्यु भएको थियो । दुईजनाको मोटरसाइकल दुर्घटनामा र अर्का एकजनाको साइकलबाट लडेर मृत्यु भएको हो । गत कात्तिक महिनामा जिल्ला सवारी दुर्घटनामा परी १४ जनाले ज्यान गुमाएका थिए । मंसिर महिनामा मात्र ६ जनाको दुर्घटनामा मृत्यु भइसकेको छ । झापामा तीन दिनदेखि टाइमकार्ड लागु भएको छ । तर, दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्