लक्ष्मी उप्रेती

बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरभित्रका विभिन्न योजना तथा कार्यक्रम समावेश गरिदिन आग्रह गर्दैं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोधपत्र बुझाएको छ ।

सडक, पुल, बसपार्क, खेलमैदान, भवन र अन्य कार्यक्रमसहित ३१ बुँदे योजना तथा कार्यक्रम नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीले संयुक्तरुपमा प्रधानमन्त्री ओलीलाई बुझाएका हुन् ।

प्रधानमन्त्री ओली झापा भ्रमणमा आएका बखत मेचीनगर—४ स्थित आमडाँगीमा भएको कार्यक्रममा उक्त अनुरोधपत्र बुझाइएको उपप्रमुख उप्रेतीले जानकारी दिइन् ।

उनका अनुसार आठवटा सडक, नौवटा पुल, एक÷एकवटा बसपार्क र खेलमैदान र एघारवटा अन्य कार्यक्रम अनुरोधपत्रमा समेटिएको छ । नगरकै गौरवको योजनाको रुपमा रहेको मेचीनगर—८ मा निर्माण गरिएको महिला सीप विकास केन्द्र सञ्चालनका लागि विशेष योजना सरकारसँग माग गरिएको छ । यसैगरी, मेचीनगर नगरपालिका क्षेत्रभित्र सुविधासम्पन्न रंगशाला र अन्तर्राष्ट्रिय सिमाना काँकरभिट्टामा रहेको बसपार्कलाई टर्मिनल भवनसहितको सुबिधासम्पन्न बसपार्क निर्माण गर्न आग्रह गरिएको छ ।

उपप्रमुख उप्रेतीका अनुसार मेचीनगर २ र ३ मा भावना चोक र भृकुटी जोड्ने निन्दा खोला, मेचीनगर १५ मा पर्ने चौधरी चोक हेल्दुबारी जोड्ने निन्दा खोलामा पुल, निर्माणाधिन सुकेनिन्दा खोलामा पुलको निरन्तरता, मेचीनगर—१ को तिरिङ खोलामा पुल, कालिका सामुदायिक वनबाट मेचीनगर वडा नम्बर ११ जाने बाटो हडिया खोला पुल, मेचीनगर —११, बाहुण्डाँगी बजारबाट भारत नक्सलवारी बजार जाने बाटोमा पर्ने मेची नदीमा झोलुङ्गे पुल, मदन भण्डारी मार्गको पूर्वी प्रारम्भ विन्दु पाटापुर र भारतको पश्चिम बंगाल जोड्ने मेची नदीमा झोलुङ्गे पुल,मेचीनगर १५ को ग्वालाबस्तीसम्म पुग्न मेची नदीमा झोलुङ्गे पुल, महल्याचोकबाट पश्चिम मेचीनगर वडा नम्बर ३ वडा कार्यालयसम्म जाने निन्दा खोलामा झोलुङ्गे पुल निर्माणका लागि योजना तथा कार्यक्रम समावेश छन् ।

यसैगरी, सडकतर्फ संघीय निर्वाचन क्षेत्र स्तरीय रणनीतिक सडक राधास्वामी भावना चोक, स्याङ्गलेटार, इलाम जोड्ने सडकको निरन्तरता,मेची करिडोर(काँकरभिट्टा–बाहुनडाँगी–सलकपुर) को निरन्तरता, मेचीनगर रिङरोड सडक, बुद्धशान्ति गाउँपालिकाबाट लवनडाँगी– धाइजन– दुहागढी र पुहातुवारी जोड्ने करीव १२ किलोमिटर सडक, हात्ती रिसोर्टबाट मानव सेवा आश्रम हुँदैं उत्तर जाने सडक, तेलीबारी–मैनालीवारी सडक, सघन शहरीको कार्यक्रमअन्तर्गत विभिन्न सडकहरुको निर्माण, मेचीनगर वडा नमबर ५, ६ र ८ हुँदैं मेचीनगर २ जोड्ने सुवर्णमार्ग समेत समावेश गरिदिन अनुरोधपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्