बिर्तामोड, पुष ६ ।  बिर्तामोडका गाउँटोलका महिलाहरुले मिलेर खोलेको पञ्चकन्या महिला बहुउद्देश्यीय सहकारी संस्था उत्कृष्ट बन्दै गएको छ । 

बिर्तामोडमा ११ वटा महिला सहकारी संस्था रहेकोमा पञ्चकन्याले उत्कृष्ट पाँचौ स्थान लिन सफल भएको हो । महिलाहरुलाई संगठित गर्दै पञ्चकन्या सहकारी व्यवसायतर्फ उन्मूख भएको छ । मेची ग्यास , रासायनिक मल, बीउबिजनजस्ता व्यवसाय गरिरहेको संस्थाले बचत र ऋणको कारोबारसंगै सदस्यहरुलाई सुत्केरी उपचार राहत, मृत्यु राहत , स्वास्थ्य राहत , बाल बचत , सहुलियत कर्जा प्रवाह , सीपमूलक तालिम, अवलोकन भ्रमण , क्युआर सुविधा प्रदान गर्दै आएको संस्थाकी अध्यक्ष यादवकुमारी तिम्सिनाले बताइन् ।

संस्थाको २२ औं वार्षिक साधारण सभामा सहभागी सबै वक्ताहरुले पञ्चकन्याको प्रगतिको प्रशंसा गरेका थिए । संस्थाकी अध्यक्ष तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई , नगरपालिकाका पूर्व सहकारी अधिकृत डिल्ली दाहाल, वडा नं ३ का वडाध्यक्ष मदन बुढाथोकी, सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवास भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वार्षिक प्रतिवेदन अध्यक्ष तिम्सिना र लेखा परीक्षण समितिको प्रतिवेदन लेखा संयोजक दुर्गादेवी चुडालले प्रस्तुत गरेका थिए । त्यस अवसरमा जेष्ठ नागरिक रुक्मिणा ओली , असल बचतकर्ता राधिका गिरी र असल ऋणी निर्मला थापालाई नगदसहित सम्मान गरिएको थियो । संस्थाकी सदस्य गिता निरौलाले स्वागत गरेको कार्यक्रमको संचालन उपाध्यक्ष नैनकला ढकालले गरेकी थिइन् ।

आर्थिक वर्ष २०७९–०८० मा १० लाख १० हजार ७८१ रुपैयाँ नाफा कमाएको संस्थाले २०८०–०८१ मा १० लाख ९६ हजार ३५१ रुपैयाँ कमाउँदै नाफामा बृद्धि गरेको छ । ५६५ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी १ करोड २३ लाख ३५ हजार ६०० रुपैयाँ छ । त्यसलाई आगामी वर्ष बढाएर १ करोड ५० लाख रुपैयाँ पुर्याउने लक्ष्य रहेको व्यवस्थापक संगीता राजवंशीले जानकारी दिइन् ।




प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्