झापा,पुष २७ । नेपाली आईटी कम्पनीहरूले अब विदेशमा लगानी गर्न पाउने नेपाल सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रमा कार्यरत नेपाली कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने उद्देश्यले एक नयाँ निर्णय अघि सारेको छ । मन्त्रिपरिषद्को बैठकले ल्याएको नयाँ अध्यादेशले नेपाली आईटी कम्पनीहरूले विदेशमा शाखा कार्यालय स्थापना गर्न, लगानी गर्न, र त्यहाँबाट आर्जित आम्दानीलाई कानुनी रूपमा स्वदेश भित्र्याउन कानुनी आधार तयार गरेको छ ।
लामो समयदेखि नेपालको आईटी क्षेत्रमा क्रियाशील उद्यमीहरूले उठाउने गरेको प्रमुख मागमध्ये एकलाई सम्बोधन गर्न सरकारले प्रयास गरेको सो क्षेत्रका विज्ञहरूको प्रतिक्रिया छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे शनिबार फेसबुक पोस्टमा भनेका छन्, ’नेपालमा आईटीको क्षेत्रमा काम गर्नेहरूका लागि केही कानुनी अप्ठ्याराहरू थिए । अब नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रूपमा भित्र्याउन पाउने भएका छन् ।’ अध्यादेशमा समेटिएका व्यवस्थाअनुसार सूचना प्रविधिमा आधारित कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा सटही सुविधा प्राप्त गर्न सक्नेछन् ।
यसका लागि सम्बन्धित कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्नेछ र मन्त्रालयले कम्पनीको व्यावसायिक क्षमताको समीक्षा गरी स्वीकृति प्रदान गरेपछि नेपाल राष्ट्र बैंकले एक पटकका लागि सटही सुविधा उपलब्ध गराउने व्यवस्था अध्यादेशमा भएको छ । साथै नयाँ अध्यादेशले विशेष आर्थिक क्षेत्रभित्र आईटी सेवा उद्योगहरू स्थापना गर्न प्रोत्साहन गर्ने प्रावधानसमेत राखेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्