
झापा,फागुन ४ । मोरङको सुन्दरहरैँचा –१० स्थित विराटचोकमा सञ्चालन भइरहेको सुन्दरहरैँचा विराट एक्स्पोमा गाईको गोबरबाट निर्मित पूजा सामग्रीमा अवलोकनकर्ताको ध्यान खिचिएको छ ।
विराटनगर–५ जामुनगाछीमा रहेको उन्नत गोठ प्रालिले एक्स्पोमा गोबरबाट निर्मित पूजा सामग्रीको सानो स्टल राखेको छ । स्टलमा उद्योगका सञ्चालक बेविना दाहालले गाईको गोबरबाट बनेका पूजा सामग्रीदेखि घरायसी प्रयोगका सामानका बारेमा अवलोकनकर्ताको जिज्ञासा मेटाइरहेकी छिन् ।
विराटनगर एक्स्पोमा राम्रो व्यापार भएपछि दाहालले विराटचोकमा पनि आफ्नो उत्पादनको प्रदर्शनी तथा बिक्री स्टल राखेकी हुन् । दाहालको उद्योगले गोबरबाट दियो, कलश, विभिन्न प्रकारका मूर्ति, फूलहरू, दियो स्टेन्ड, विष्णुको पाउलगायत सय बढी सामग्री उत्पादन गरिरहेको छ । सस्तो मूल्यमा खरिद गर्न सकिने सामग्रीहरू वातावरणमैत्री रहेको दाहालको भनाइ छ ।
दूध दिन छाडेका गाईहरूको संरक्षण गरी तिनीहरूले दिने गोबरबाट पूजा सामग्री निर्माण गरिरहेको दाहालले बताइन् । दाहालले हाल दस जना महिलालाई उद्योगमा रोजगार दिइरहेकी छन् । सुरुवाती चरणमा सात लाख रुपियाँ लगानी गरी उद्योग सञ्चालनमा ल्याएकी दाहालले विराटनगरमा सञ्चालन भएको एक्स्पोमा आफ्नो उत्पादन पहिलो पटक राखेकी थिइन् ।