
झापा,फागुन ८ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८०-८१ को तुलनामा चालु आव २०८१-८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १४.७५ प्रतिशतले बढेको हो ।
गत आवको सो अवधिमा तीन लाख ९६ हजार ८११ जनाले श्रम स्वीकृति लिएकामा चालु आवको यस अवधिमा चार लाख ६५ हजार ५०७ जनाले श्रम स्वीकृति लिएर बिदेसिएको विभागले जनाएको छ । जुन संख्या गत आवको तुलनामा चालु आवमा ६८ हजार ६९६ जनाले बढी हो ।
विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले चालु आवमा सबैभन्दा धेरै मंसिर र माघमा श्रम स्वीकृति जारी भएको जानकारी दिए । प्रवक्ता सुवेदीले मलेसिया जाने नेपाली श्रमिकको संख्या घटे पनि गत आर्थिक वर्षदेखि नै संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब जाने बढेसँगै श्रम स्वीकृति लिनेको संख्या बढेको जानकारी दिए ।
चालु आव २०८१-८२ को मंसिरमा सबैभन्दा बढी (८४ हजारभन्दा बढी) ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । मंसिरमा ८४ हजार २२७ जनाले श्रम स्वीकृति लिएकामा सबैभन्दा कम असोजमा ५३ हजार ४२५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
विभागका अनुसार माघमा ७२ हजार ४४१, कात्तिकमा ७० हजार ९९०, पुसमा ६७ हजार १५३, भदौमा ५७ हजार ४९३ जना र साउनमा ५९ हजार ५७५ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।