
झापा,चैत्र १२ । कांग्रेस महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय सरासर गलत भएको बताएका छन् ।
’यो सरासर गलत काम भएको छ । हामीलाई उहाँहरूले ढाँट्ने काम गर्नुभयो । जुन बेला हामीले नागरिकको असन्तुष्टि हटाउने काम गर्नुपर्ने हो त्यो बेलामा जानीजानी सरकारबाट यस्तो काम गरिएको छ,’ महामन्त्री थापाले भने । हात हाल्नै नपर्ने ठाउँमा हात हालेर सरकारले जबर्जस्ती समस्या सिर्जना गरेको पनि उनको भनाइ छ ।
’सरकार चलाउने भनेको कमन सेन्सको कुरा हो । जुन कुरामा हात हाल्नै पर्दैन त्यो कुरामा हात हालेर जबर्जस्ती समस्या सिर्जना गर्नु मुर्खतापूर्ण छ । किन गरेको भन्ने मलाई थाहा छैन,’ उनले भने । आफूहरूले पार्टी सभापति शेरबहादुर देउवालाई समेत कुलमानलाई हटाउनु उचित नहुने भनेर पटक–पटक भनेको पनि महामन्त्री थापाले बताए ।