झापा, चैत ३१ । पटक पटक विभिन्न अपराधमा संलग्न रहेका एकजना कुख्यात अपराधीलाई जबरजस्ती करणी कसूरमा इलाम प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेर फरार रहेका पाँचथर फाल्गुनन्द गाउँपालिका वडा नं ३ बस्ने ३० वर्षीय पदमकुमार तामाङलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो । खोजतलास तथा अनुसन्धानको क्रममा इलाम नगरपालिका वडा नं. ७ बाट आज उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी मानबहादुर राईले बताए । उनले जिल्ला अदालत इलामबाट ७ दिन म्याद थप गरी तामाङमाथि अनुसन्धान कार्य भइरहेको जानकारी दिए ।
तामाङले नेपाली सेनाको सह–सेनानी दर्ज्यानीयुक्त नक्कली पोशाक भएको तस्बिरहरु सामाजिक संजालमा राखी विवाह गर्ने प्रलोभन तथा डर त्रासमा एक २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेका थिए । ती महिलाले चैत १८ गते प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।
यसअघि पटक पटक विभिन्न अपराधमा उनी संलग्न रहेका थिए । २०७२ असार ९ गते इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाममा केही सार्वजनिक अपराध मुद्दा, २०७५ असार २ गते जिल्ला प्रहरी कार्यालय इलाममा चोरी मुद्दा, २०७७ फागुन १२ गते इलाका प्रहरी कार्यालय अनारमनी झापामा चोरी मुद्दा ,२०७८ असोज ४ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा अभद्र व्यवहारमा मुद्दा र २०७९जेठ २३ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा चोरी मुद्दा तामाङमाथि दायर भएको थियो ।