झापा, बैशाख १ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक वैशाख १ गते शुरु हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विक्रम संवतको पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ ।

नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ । नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्छन् ।

विगतका कामको समीक्षा गर्दै कमजोरी सुधार गरेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ ।

यस्तै आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलनसमेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज धेरैले गएको वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउनको लागि योजना निर्माण एवम् सङ्कल्प गर्ने गर्छन् ।

आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने तथा आफन्त, परिवार र साथीभाइसँग भेटघाट गर्दै मीठो भोजन बनाएर खाने चलन छ । यसैबीच आदिवासी राजवंशी समुदायको सिरुवा पर्व आजदेखि शुरु भएको छ । तीन दिनसम्म मनाइने यस पर्वमा पहिलो दिन पानीको होली जल सिरुवा , दोस्रो दिन हिलोको होली काद सिरुवा र तेस्रो दिन रंगहरुको होली रंग सिरुवा खेल्ने चलन छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्