बिर्तामोड, बैशाख ३ । झापाको बिर्तामोड ७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको निर्वाचन भोलि हुँदैछ ।

निर्वाचनमा आ–आफ्ना उम्मेदवारलाई जिताउन नेता कार्यकर्तासंगै नगरपालिकाका जनप्रतिनिधिदेखि मन्त्रीसम्म लागिपरेका छन् ।

नेकपा एमालेको प्यानललाई जिताउन कोशी प्रदेश सरकारका खानेपानी , सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीदेखि बिर्तामोड नगरपालिकामा एमालेबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु लागिपरेका छन् । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , वडाध्यक्षहरु अविरल कृष्ण खरेल , मदन बुढाथोकीलगायतका जनप्रतिनिधिहरु दिनरात नभनी खटिएका हुन् ।

पार्टीका तर्फबाट नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य हरिचरण शिवाकोटी, नगर अध्यक्ष सुवास भट्टराई , नेता देवराज कार्कीलगायत परिचालित छन् । एमाले एक्लै निर्वाचनमा होमिएको छ । नेकपा एमालेले सूर्य भट्टराईको अध्यक्षतामा प्यानल बनाएको हो । भट्टराई पूर्व वडाध्यक्ष स्वर्गीय गंगा भट्टराईका छोरा हुन् । उनको प्यानलमा उपाध्यक्षमा कुलप्रसाद साँवा, सचिव सृष्टि राई, सहसचिव लक्ष्मीप्रसाद पौडेल र कोषाध्यक्षमा नैनकला गुरागार्ई उम्मेदवार बनेका छन् ।

यस्तै, सदस्यहरुमा टोल नं. १ बाट खड्गप्रसाद प्रधान, रिता चौधरी, २ बाट भीम सुब्बा, रुपा घिमिरे, ३ बाट भीम अधिकारी, रञ्जु बराल, ४ बाट मनकुमार लिम्बू, सीतादेवी बस्नेत र ५ बाट प्रमिला घिमिरे, रिता खनाललाई उम्मेदवार रहेका छन् ।

खुल्ला सदस्यमा पार्वता भुजेल, थलप्रसाद गदाईली (दलित), उर्मिला राई (खुल्ला महिला) र संजय लिम्बू ( खुल्ला पुरुष) उम्मेदवार बनेका छन् ।

उता नेकपा माओवादी केन्द्र , नेपाली कांग्रेस , राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको चारदलीय गठबन्धनलाई जिताउन चारैवटा दलका नेता कार्यकर्ता चुनावी मैदानमा छन् । बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई , ६ का वडाध्यक्ष सूर्य कन्दङ्वा , ८ का वडाध्यक्ष अजय कार्की खुलेर लागेका छन् ।

गठबन्धनका तर्फबाट अध्यक्षमा कृष्णप्रसाद लिम्बूले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । त्यस्तै सो गठबन्धनका तर्फबाट उपाध्यक्षमा मंगलसिंह साँवा , सचिव इन्दिरा अधिकारी बाँसकोटा , सहसचिव जीवन कार्की र कोषाध्यक्षमा इश्वरादेवी भट्टराईले उम्मेदवारी दिएका छन् ।

त्यस्तै आरक्षित पाँच सदस्यमध्ये महिला सदस्यमा शान्ता उप्रेती , मन्जु कट्टेल उप्रेती , जनजातितर्फ बुद्धराज लिम्बू , दलिततर्फ सावित्रा कार्की र आदिवासीतर्फ मनमाया हस्दाले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै पाँचवटा टोलतर्फ १ नं टोलमा वीरबहादुर श्रेष्ठ , धनमाया फुँयल, २ न. टोलमा मेघराज पौडेल लीलादेवी उप्रेती , ३ न. टोलमा डिल्लीराम प्रसाई भीमा श्रेष्ठ , ४ न. टोलमा राजकुमार लावती , सुनिताकुमारी राजवंशी तथा ५ नं टोलमा खगेन्द्र कट्वाल र बन्दना लिम्बू उम्मेद्वार बनेका छन् ।

एमालेलाई वर्चस्व जोगाउन चुनौती

निचाझोडा वनमा नेकपा एमालेको वर्चस्व रहँदै आएको छ । त्यस वर्चस्वलाई तोड्न चार दल एक भएर लागिपर्दा एमालेमाथि चुनौती थपिएको छ । कोशी प्रदेशका मन्त्री कार्की बिर्तामोड ७ का स्थानीय बासिन्दा हुन् । सोही वडामा निचाझोडा वन रहेको छ । कार्की २१ वर्ष सो वनको अध्यक्ष रहेका थिए । २०७१ सालमा समुदायलाई हस्तान्तरण गरिएको सो वनमा २०५२ देखि २०७३ सम्म कार्की अध्यक्ष रहेका थिए । त्यसपछि २०७३ देखि २०७८ सम्म नेपाली कांग्रेसकी रेनुका उप्रेती अध्यक्ष बनेकी थिइन् । एक कार्यकाल कांग्रेसले चलाएपनि त्यसपछि एमालेकै बद्री प्याकुरेलले २०७८ देखि २०८२ सम्म अध्यक्षको कार्यभार सम्हालेका छन् । चारदलीय गठबन्धनबाट उठेका लिम्बू यसअघिको निर्वाचनमा प्याकुरेलसंग पराजित भएका थिए । निचाझोडा वनमा ८३१ घरधुरी सदस्य रहेका छन् ।

गरामनी क्याम्पसको निर्वाचनले झस्काएपछि ……

मन्त्री एकराज कार्की नै अध्यक्ष रहेको गरामनी क्याम्पसमा एमालेनिकट अनेरास्ववियूले लज्जास्पद हार बेहोर्नुपरेपछि एमाले झस्किरहेको छ । वर्चस्व रहँदा रहँदै निचाझोडा वनमा पनि त्यस्तै परिणाम आउने हो कि भनेर एमाले झस्किएको हो ।

उता सत्ता गठबन्धनको नेपाली कांग्रेसलाई एमालेबाट अलग्याएर आफूसंग मिलाउन सफल बनेको चारदलीय गठबन्धन उत्साहित बनेको छ । गरामनी क्याम्पसमा भएको स्ववियू निर्वाचनमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले प्यानल नै जितेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्