झापा,बैशाख ९ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिक सत्र २०८२ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको छ ।

नयाँ शैक्षिक सत्रका लागि वैशाख ८ गतेसम्ममा कार्यालयले १५ करोड १९ लाख ८७ हजार ७५५ रुपियाँ बराबरका पाठ्यपुस्तक बिक्री गरेको जनाएको छ ।
प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख होमराज ढुङ्गेलले यस वर्षको शैक्षिक सत्रका लागि वैशाख ८ गतेसम्म नेपालगन्ज कार्यालयबाट १५ करोड १९ लाख ८७ हजार ७५५ रुपियाँ बराबरको पाठ्यपुस्तक बिक्री वितरण गरिसकिएको जानकारी दिए ।
गत वर्षसम्म जनक शिक्षाले कक्षा ५ देखि १२ कक्षा सम्मका पाठ्यपुस्तक वितरण गर्दै आएको थियो । तर, यस वर्षबाट कक्षा ३ को समेत पाठ्यपुस्तक जनक शिक्षाले नै छपाइ गर्ने र वितरण गरिने भनिएता पनि निजी छापाखानाले समेत ३ कक्षाको पुस्तक छपाइ गर्दा कम बिक्री भएको तथा बिक्री वितरण कार्यमा केही दबाब सिर्जना भएको उनले जानकारी दिए । यस वर्ष कार्यालयबाट फागुनको पहिलो हप्तादेखि पाठ्यपुस्तक बिक्री वितरण थालिएको उनले बताए ।
जनक शिक्षा सामग्री केन्द्रले विराटनगर, पोखरा, भरतपुर, जनकपुर, बुटवल, सुर्खेत, नेपालगन्ज, धनगढी र काठमाडौँ गरी ९ स्थानमा रहेका आफ्नो बिक्री केन्द्रबाट पाठ्यपुस्तकहरू बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्