झापा, बैशाख १३ । मुलुकमा आयात हुने ७५ देखि ८० प्रतिशत डिजेल पाइप लाइनबाट भित्रिने गरेको छ ।

नेपाल आयल निगमका अनुसार मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट ७५ देखि ८० प्रतिशत डिजेल आउने गरेको हो ।
निगमका अनुसार वार्षिक माग १७ लाख किलोलिटर डिजेल आयात हुने गरेकामा अहिले १३ लाख किलोलिटरसम्म डिजेल पाइप लाइनबाट आयात हुन थालेको हो । अमलेखगन्जमा पाइप लाइनमार्फत आयात भएको डिजेल अन्य ठाउँमा वितरण हुने गरेको छ । ठुलो परिमाणमा पाइप लाइनमार्फत डिजेल आयात हुन थालेपछि आयात गर्दा लाग्ने ढुवानी खर्च वार्षिक ४९ करोड रुपियाँभन्दा बढी रकम बचत हुन गरेको निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पाइप लाइनबाट डिजल आयात हुन थालेपछि चुहावट दर घट्नका साथै ढुवानी गर्ने ट्याङ्करको संख्या घटेको जानकारी दिए ।
“मुलुकमा खपत हुने कुल डिजेलमध्ये करिब ८० प्रतिशतसम्म मोतीहारी–अमलेखगन्ज पाइप लाइनबाट आपूर्ति हुन्छ,” ठाकुरले भने, “पाइप लाइनबाटै डिजेल आयात हुन थालेपछि ट्याङ्करबाट हुने ढुवानी रोकिनुका साथै यसले गर्दा ढुवानीबापतको रकम जोगिँदा निगमलाई बचत भएको हो ।”
निगमका अनुसार पाइप लाइनबाट ट्याङ्करमार्फत इन्धन आयात गर्दा लामो दुरी, ट्राफिक जाम, भन्सार जाँचपासमा लाग्ने समय पनि बचत भएको छ । त्यसै गरी श्रम शक्ति, मेन्टिनेन्सलगायतका क्षेत्रमा हुने खर्च करिब ५० करोड रुपियाँ वार्षिक रूपमा थप जोगिएको निगमको भनाइ छ ।