झापा, बैशाख १७ । लामो सुसाइड नोट लेखेर मोरङ केराबारी ७ दाहाल चोक बस्ने ७२ वर्षीय मक्करबहादुर तामाङ(घिसिङ) ले सप्तकोशी नदीमा  हामफालेका छन् ।

आत्महत्या गरेका तामाङको कालो हेण्ड व्यागमा दुईवटा सुसाइड नोट फेला परेको थियो । एउटा कागजको पानामा लेखिएको छ ‘ मेरो घर मोरङ केरावारी वडा नं.०७ दाहाल चोकमा हो । मेरो झोलामा फोन छ । निकालेर दयालु मित्रजनले यो ९८१४९२२१९१ फोन नम्बरमा फोन गरी दिनुहुन अनुरोध छ । ’ त्यस्तै अर्को कागजको पानामा ‘ खाना रुचि नभएको कारणले जीवन सुकेर जाने भयो त्यसकारणले सप्तकोशीमा गएर जलदेवता मातालाई अनुरोध गरेर हामफालेको मैले पिर खप्न सकिनँ । मनुष्य लोकका मित्रहरुलाई मेरो तर्फबाट बाईबाई छ ’ भनेर लेखिएको छ ।

हिजो दिउँसो १२;४० बजेतिर सुनसरी बराहक्षेत्र १ कोशी खोला र कोका खोलाको संगम सप्तकोशी नदीमा एक पुरुषले हामफालेको भनी स्थानीयहरुले प्रहरी चौकी बराहक्षेत्रमा जानकारी गराएका थिए । प्रहरी टोली घटनास्थलमा पुग्दा कालो हेण्ड व्याग फेला परेको थियो । उक्त ब्यागभित्र बराहक्षेत्र मन्दिर संरक्षण समितिको रसिदमा जिल्ला मोरङ केराबारी ०७ दाहाल चोक बस्ने बर्ष–७२ को मक्कर बहादुर तामाङ(घिसिङ) रसिद, एक थान सादा किप्याड नोकिया मोवाइल र सुसाइड नोट फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट टोली खटिएको र सशस्त्र प्रहरी सुरक्षा बल नेपाल बेस चतराबाट समेत टोली खटिएर खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्