झापा, जेठ २२ । झापाको बिर्तामोडमा पहिलो पटक गायत्री जयन्ती मनाइएको छ ।

गायत्री माता मन्दिर व्यवस्थापन समिति बिर्तामोड – ५ को आयोजनामा गायत्री जयन्ती मनाइएको हो ।
गायत्री जयन्तीको अवसरमा मन्दिर परिसरबाट निकालिएको निशान यात्राले बिर्तामोड नगर परिक्रमा गरेको थियो । विभिन्न संघ संस्थाका पदाधिकारीसहित भक्तजन ,बटुक, स्काउट तथा धार्मिक एवम् सामाजिक व्यक्तिहरुको सहभागितामा निकालिएको ¥याली बिर्तामोड नगर परिक्रमापछि पुनः मन्दिर परिसरमा पुगेको थियो ।
यस अवसरमा मन्दिरका संस्थापक अध्यक्ष रोनक वंशल , मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विवेक अग्रवाललगायतले मन्दिरमा आएका श्रद्धालु भक्तजनलाई स्वागत गरेका थिए ।
पूर्वमै पहिलो पटक अढाई करोड रुपैयाँको लागतमा मन्दिर निर्माण भएसंगै गायत्री जयन्ती समेत पहिलो पटक मनाइएको हो । गायत्री जयन्तीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, बिर्तामोड नगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष रोहित प्रसाई, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज वास्तोला, अग्रसेन भवन सेवा समितिका अध्यक्ष सुरेश कुमार अग्रवाल भद्रपुरे लगायत पाँच सयभन्दा बढीको सहभागिता रहेको थियो ।
बिर्तामोडका युवा व्यवसायी वंशलको अगुवाइमा बिर्तामोड ५ स्थित अग्रसेन भवनको समिपमा माता गायत्रीको दिब्य मन्दिर निर्माण भएको छ । २०८० साल जेठ १७ गतेबाट मन्दिर निर्माण प्रारम्भ भएर २०८१ साल माघ २१ गते विधिपूर्वक माताको प्राण प्रतिष्ठा गर्दै मन्दिर सञ्चालनमा आएको थियो ।
गायत्री माता मन्दिर व्यवस्थापन समितिले गायत्री जयन्तीमा विशेष प्रकारको कार्यक्रम आयोजना गर्दै साँझ सन्ध्या आरती गरेको थियो ।