झापा, जेठ २५ । मोरङ कानेपोखरी गाउँपालिका– ४ बयरवन घर भएका सशस्त्र प्रहरी नायव निरीक्षक पुरनलाल राजवंशीको अनिवार्य अवकाश हुन ३ वर्ष मात्र बाँकी थियो ।

करिव २७ वर्षसम्म प्रहरी विभागमा सेवारत रहँदा उनी आफ्नो जिम्मेवारीसंगै घरको कामकाजमा समेत दत्तचित्त भएर खटिन्थे । उनको घरमा ग्वाली बनाउनु पर्ने आवश्यकता थियो । उनी ग्वाली बनाउनै घर विदामा गएका थिए । जेठ १२ गते घर विदामा गएका उनलाई ग्वाली बनाउने काम नसकेपनि विदा सकिएकाले हिजो साँझ डिउटीमा फर्किनु पर्यो ।

इलाम बीओपी समालबुङ पोष्टमा कार्यरत राजवंशीले व्यारेक फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाए । हिजो साँझ ७.५५ बजे कमल गाउँपालिका ३ सानो केर्खास्थित पूर्वपश्चिम लोकमार्गमा उनी चढेको प्र.१–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएको थियो । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा राति ९ बजे अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

खडगनारायण राजवंशी र जुरासी राजवंशीका कान्छा छोरा पुरनलाल जनपद प्रहरीमा सिपाहीमा प्रवेश गरेका थिए । पछि उनी सशस्त्र प्रहरीमा आएका थिए । इमान्दार र मिलनसार स्वभावका राजवंशीको मृत्युले उनको परिवार , बयरबनबासी र सिंगो व्यारेक स्तव्ध भएको छ । आफूहरुले एक कर्मशील र इमान्दार प्रहरी गुमाएको बीओपी समालबुङ पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सागर प्रधानले बताए ।

राजवंशीका श्रीमती पारो राजवंशी , एसईई दिएकी एक छोरी र कक्षा ९ मा अध्ययनरत एक छोरा रहेका छन् । आफ्नो घरपरिवार र समाजका लागि सँधै मरिमेट्ने व्यक्तिलाई गुमाउनु पर्दा अत्यन्त दुःख लागेको आफन्त सुवास राजवंशीले बताए ।

राजवंशी यसअघि माओवादी सशस्त्र द्वन्द्वमा मुश्किलले बाँचेका थिए । उनको शव प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी अन्त्येष्टिका लागि घरतर्फ लगिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्