
लक्ष्मी उप्रेती
मेचीनगर । झापा अर्जुनधारा नगरपालिका —८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी बैदेशिक रोजगारीका लागि रोमानिया जाने तयारीमा थिए ।
उनी दुई वर्षजति खाडीमुलुक बसेर स्वदेशमै केही गरौ भनेर फर्किएका थिए । स्वदेशमा कतै जागिर नपाएपछि उनले रोमानिया जाने योजना बनाए । आवश्यक प्रक्रियामा लागेका उनलाई केही दिनपछि सम्पर्कका लागि आउन म्यानपावरहरुले भनेका थिए ।
तर, प्रहरीसंगको झडपले उडायो दिनेशको रोमानिया जाने सपना ।जेनजीका नवपुस्ताले भदौ २४ गते बिर्तामोडमा गरेको प्रदर्शनका क्रममा प्रहरीसंगको झडपमा उनी घाइते भएका थिए । बीएण्डसी अस्पतालमा उपचारका क्रममा तीन दिनपछि भदौ २७ गते बिहान ११ः३५ बजे उनको मृत्यु भयो । दिनेशको निधनसँगै जान्तीको सिउँदो पुछिएको छ, आमालगायत दिनेशको सिङ्गो परिवार भावविह्वल भएका छन् । अहिले उनको निधनले सिङ्गो गाउँ शोकमा छ ।
एसएलसीसम्म अध्ययन गरेका दिनेशले घरको आर्थिक अवस्थाकै कारण उच्च शिक्षा हासिल गर्न सकेनन् । तर, उनी छोराछोरीलाई खाई नखाई राम्रै शैक्षिक संस्थामा पढाउन चाहन्थे । यो घटनाले आफ्ना सन्तानलाई राम्रो स्कुल पढाउने दिनेशको सपना अब सपनामा मात्रै सीमित भएको छ । बृद्धा आमा, श्रीमती, दाजु भाउजुसहित परिवार नै शोकमा रुँदारुँदै बेला बेलामा बेहोस हुँदै जाग्दै गरेको स्थानीयले बताए ।
२०५० सालमा बाबु स्वर्गीय मंग्लु र आमा सपना राजवंशीका दुई छोरामध्ये दिनेश कान्छा थिए । सामान्य परिवारमा जन्मेका दिनेशले बाँचुञ्जेल सुखको अनुभव गर्न पाएनन् । तीन वर्षअघि बाबु मंग्लुको निधन र जेठा दाजु गोवद्र्धन पनि वैदेशिक राजगारीका लागि दुवई गएपछि ५५ वर्षीया आमा, श्रीमती र दुई नानीहरुसहित सिङ्गो परिवारको पालनपोषण उनकै काँधमा थियो । दाजु गोवद्र्धन, भाउजु नुपुरसहितको संयुक्त परिवार छ दिनेशको । कतारमा बसेर फर्किएका दिनेशको अर्जुनधाराको हात्तीकिल्लिा—८ मा एउटा सानो कच्ची घर छ । आर्थिक अवस्था ज्यादैं कमजोर र दयनीय रहेको राजवंशी समाज विकास समिति केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए ।
त्यही सानो र कच्ची घर, ५५ वर्षीया आमा सपना, ३० वर्षीया श्रीमती जान्ती, ५ वर्षका छोरा रिदम, १ वर्षीया छोरी दिपीकासहित परिवारको अधुरो सपनालाई असरल्लै छाडेर दिनेश सधैंका लागि विदा भएका छन् । र, उनको परिवारमा चाहिँ कहिल्यै नजाने गरी विपतका दिनहरु आएका छन् । ‘म कसरी चित्त बुझाउँ, यो उमेरमा कस्तो बज्रपात आइलाग्यो म कल्पना पनि गर्न सक्दिनँ,’ श्रीमती जान्तीले रुदैँ रुदैँ भनिन्‘ यी साना लालाबालाको हुर्काउने बढाउने, पढाउने, बृद्धा सासुआमाको रेखदेखदेखि सवै जिम्मेवारी अब मसँग छ । घरको मुख्य मान्छे नै ढलेपछि हामी कसरी बाँच्नु ।’ प्रदर्शनका क्रममा श्रीमान घाइते भएको सुन्नसाथ उनी मध्यान्ह १२ बजे अस्पताल पुगिन् । आफू रुदैँ कराउँदैं अस्पताल पुग्दा श्रीमान दिनेश मृत्युसँग लडिरहेको दृश्यले उनले मन नै थाम्न नसकेको बताइन् ।
श्रीमान दिनेश सामान्य मासुको पसल चलाउने आफू दैनिक ज्यालादारीमा कृषि मजदुरका रुपमा काम गर्न जाने श्रीमती ३० वर्षीया जान्ती राजवंशी बताउँछिन् । उनीहरुको आम्दानीको मुख्य स्रोत भनेकै जान्तीको दैनिक ज्यालादारी र दिनेशको मासु पसलबाट आउने रकम नै थियो । दुईजनाको कमाइले जसोतसो परिवारको गर्जाे टार्दै आएका थिए। ‘त्यो परिवारमा आशा भरोसाका केन्द्र भनेकै उनै दिनेश थिए । उनी असाध्यै अनुशासित, स्वभाव पनि राम्रो भएको युवा थिए । ‘उनी त्यस्तो घटनामा परेको खबरले अर्जुनधारावासी मात्र नभएर राजवंशी समाज शोकाकुल भएका छन् ।’ राजवंशी समाज विकास समिति केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए । अत्यन्तै मिजासिला र भद्र स्वभावका दिनेशको मृत्युको खबरले अहिले हात्तीकिल्ला टोल मात्रै होइन, पुरै अर्जुनधारा स्तब्ध भएको छिमेकी राजु शेर्माले बताए । उनलाई राम्रोसँग चिनेका स्थानीय शेर्मा दिनेश हक्की र निडर स्वभावका भएको बताउँछन् ।
अब श्रीमानको मृत्युपछि आफूलाई घर चलाउन समस्या हुने जान्ती बताउँछिन् । घटनापछि अस्पतालबाट घरमा शव ल्याउन र पोस्टमार्टममा पनि समस्या भएको, त्यसले आफ्नो परिवार थप पीडामा रुनु परेको दाजु गोवद्र्धनले बताए । जसोतसो ऋण खोजेरै अहिलेसम्मको काम गरिएको उनले सुनाए । झण्डै ६—७ वर्षदेखि बैदेशिक राजगारीका लागि दुबई जादैं आउँदैं गरेका दाजु गोवद्र्धन भाइको यो घटना सुन्नेवित्तिकै नेपाल आएका छन् । ‘घटना २४ गतेको रहेछ,’ अवरुद्ध गलामा उनले भने —‘त्यसपछि म परिवारजनको सम्पर्कमा रहिरहे, तत्कालै नेपाल आउने तयारी गर्दै थिए, स्वास्थ्य सुधारोन्मुख रहेको खवर पाएपछि २५ गते म हिडिनँ । जब अस्पतालमा मृत्यु भएको खवर पाएँ, लगत्तै म नेपाल हिडे ।’ भाइको काजक्रियाका लागि दाजु गोवद्र्धन नै सेता लुगा लगाएर बसेका छन् । ‘छोरा सानो छ उसले सवै कर्म गर्न सक्दैन त्यसकारण म आफै काजक्रियामा बसेको छु । हाम्रो पनि १२ दिनसम्म काममा बस्नुपर्छ ।’ उनले थपे ।
भाइ यस्तो घटनामा परेर गएपनि उसका परिवारलाई रेखदेखको जिम्मा सरकारले लिनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने, उनका सन्तानलाई निःशुल्क उच्च शिक्षाका लागि उनले आग्रह गरेका छन् । वर्तमान सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम सरकारका गृह तथा कानून मन्त्री ओमप्रकाश अर्यालले मृतकका परिवारलाई १५ लाख रुपैयाँ राहत उपलब्ध गराउने सुनेको उनले बताए ।
दिनेशसंगै बिर्तामोडमा भएको झडपमा हिलिहाङ–२ पाँचथर घर भई बिर्तामोड–१० मा बस्दै आएका अन्दाजी ३५ वर्षका कमल भण्डारी र अर्जुनधारा नगरपालिका–८ निवासी २८ वर्षका गोपाल सेढाईको मृत्यु भएको थियो ।



