झापा , बैशाख २ । मुलुकमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको तीन हप्ता पूरा भयो । लकडाउनको पछिल्लो म्याद भोलि वैशाख ३ गते सकिँदै छ ।

तर सरकारले लकडाउनलाई फेरि लम्ब्याउने तयारी गरिरहेको स्रोतबाट खुल्न आएको छ । यही विषयमा छलफल गर्न आज मन्त्रिपरिषदको बैठक बस्न लागेको छ । स्रोतका अनुसार आज बिहान ११ बजे बालुवाटारमा बस्ने उक्त बैठकले लकडाउनको अवधि थप्नेबारे निर्णय गर्नेछ ।

गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने क्रममा अझै २ हप्ताजति कष्टकर हुने बताएका थिए । यसको संकेत लकडाउन थपिने भन्ने नै थियो ।

बालुवाटार स्रोतका अनुसार चौथोपटक लकडाउन कम्तीमा एक हप्तादेखि १० दिनसम्मका लागि थप गर्ने सरकारको तयारी छ । यसअघि गत चैत २४ गतेको मन्त्रिपरिषद बैठकले ८ दिन थप गरेको थियो । सो अवधि भोलि बुधबार सकिँदैछ ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमण केसहरू स्थानीय स्तरमा र विशेषगरी भारतबाट नेपाल पसेकाहरूमा देखिएको छ । भारतमा कोरोनाका केसहरू बढिरहँदा त्यहाँको सरकारले पनि लकडाउन बढाइरहेको छ । नेपालमा पनि जोखिम न्यूनीकरण गर्ने उपायका रूपमा लकडाउन गरिएको र यसको अवधि परिस्थितिअनुसार बढाउँदै जाने सरकारको रणनीति रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्