झापा , ३ बैशाख । र्यापिड टेस्ट(आरडिटी)मा काभ्रेपलाञ्चोक, गोरखा, धादिङ र सप्तरीमा गरी पाँच जनामा कोरोना पोजेटिभ देखिएको छ । गोरखाको आरुघाट गाउँपालिकामा एक युवकमा कोरोना पोजेटिभ देखिएपछि स्वाब परीक्षणका लागि पोखरा प्रयोगशाला ल्याइएको छ । पोजेटिभ देखिएको युवा चैत १ गते बहराइनबाट नेपाल आएका थिए । उनीसंगै २० जनाको आरडिटि टेस्ट गरिएको थियो ।

यसैगरी सप्तरीमा दुईजनामा आरडिटि टेस्टले कोरोना संक्रमण देखाएको छ । दिल्लीको निजामुद्दिन स्थित तबलिकी जमातमा सहभाति भई फर्केका आठ मध्ये २ मा संक्रमण देखिएको हो । उनीहरु फागुन २५ र २६ गते मस्जिदमा आयोजित धार्मिक भेलामा सहभागि भई फर्किएका थिए । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका प्रमुख चुमनलाल दासले दुबै जनाको स्वाब पीसीआर टेस्टका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान पठाइएको बताए ।

काभ्रेपलाञ्चोकको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा र्‍यापिड टेस्ट मार्फत गरिएको परीक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । बेथान्थोक गाउँपालिका ५ का २८ वर्षका युवालाई आरडिटि परीक्षणमा पोजेटिभ देखिएको हो । उनी चैत ९ गते भारतबाट नेपाल आएका थिए । उनीसंगै अर्का दुई जनालाई गरिएको परीक्षणमा नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख सीताराम तिमल्सिनाले जानकारी दिए।

मण्डनदेउपुरमा वडा नम्वर ३ मा २३ वर्षका युवालाई पनि पोजेटिभ देखिएको छ । दुबै जनाको स्वाब परीक्षणका लागि धुलिखेल अस्पताल ल्याइएको छ । २३ वर्षका युवा चैत ७ गते दुबईबाट आएका थिए । काभ्रेमा फागुन ३० यता भारत लगायत तेस्रो मुलुकबाट २ सय ५१ जना फर्किएको तथ्यांक छ । यस्तै धादिङ ज्वालामुखी गाउँपालिकामा पनि एक जनामा पोजेटिभ देखिएको छ ।

भारत लगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसिरहेका ३५ जनाको र्यापिड टेस्ट गर्दा २७ वर्षका युवालाई पोजेटिभ देखिएको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिए । युवाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं ल्याउने तयारी भएको छ पोजेटिभ देखिएका युवा दक्षिण कोरियाबाट फागुन २१ गते फर्किएका थिए ।

यसअघि पनि र्यापिड टेस्टमा पोजेटिभ देखिएका २ जनालाई पीसीआर टेस्टमा पनि पोजेटिभ देखिएको थियो । नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्