झापा ,३ बैशाख । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारको एक जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

र्यापिड टेस्ट परीक्षणमा पोजेटिभ आएपछि पीसीआर मार्फत पुन परीक्षण गर्दा बुहारीको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसअघि ८१ वर्षका आमा र ५८ वर्षका छोरालाई कोरोनाको पुष्टि भएको थियो । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले सनसिटी अपार्टमेन्टमा २ सय ८९ जनालाई गरिएको र्यापिड टेस्टमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । तीन जना सनसिटि अपार्टमेन्टको ए ब्लकको १५ औं तलामा बस्दै आएका छन् भने चैत ५ गते बेलायतबाट नेपाल आएका थिए ।

प्रवक्ता देवकोटाले १४ वटा जिल्लामा र्यापिड टेस्ट सुरु हुन बाँकी रहेको जानकारी दिए । हालसम्म ६३ जिल्लामा र्यापिड टेस्ट बाट ८ हजार ९ सय २९ जनाको परीक्षण भएको छ । र्यापिड टेस्टमा रगतको परीक्षण गरिन्छ । उनले पीसीआर मार्फत ६ हजार ९ सय २९ जनाको परीक्षण भएको बताए । अहिले काठमाडौंमा ११ र बाहिर १ सय ६ गरी १ सय १७ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्