बुद्धशान्ति, १७ बैशाख । बुधबारे जेसीजले लकडाउनको समयमा रगतको अभाव हुन नदिन आज बृहतरूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

जेसीजले बुद्धशान्ति गाउँपालिकाको दुई स्थानमा चलाएको शिविरमा ९४ जनाले रक्तदान गरेका छन् । बुद्धशान्ति— १ को तीनतले सामुदायिक वनको सभाहलमा कुशल अधिकारीको संयोजकत्वमा र बुद्धशान्ति— ६ को राधाकृष्ण मन्दिरमा आयुश निरौलाको संयोजकत्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको महासचिव दिपेन सिटौलाले जानकारी दिए । बुधबारे जेसीजका अध्यक्ष नन्दकुमार याफु राईको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा उल्लेख्य सहभागिता जनाएकोमा अध्यक्ष राईले सबैलाई धन्यवाद दिए । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राबिधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बुद्धशान्तिको समन्वयमा भएको रक्तदान कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्षहरु फणिन्द्र चापागाईं, अतुल प्रसाईं,सेवन्त पोख्रेल, प्रकाश भण्डारी, निवर्तमान अध्यक्ष हेमन्त बराल, रेडक्रस सोसाइटी उपशाखा बुद्धशान्ति सभापति सीता निरौलालगायतको उपस्थिति थियो ।

लकडाउनयता झापामा यस कार्यक्रममा सबैभन्दा बढी रगत संकलन भएको रेडक्रस सोसाइटी झापा शाखाका रक्त सञ्चार केन्द्रका इन्चार्ज शिशिर दाहालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्