भद्रपुर, बैशाख २८ ।संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले नगर क्षेत्रका अधिकांस संस्थागत विद्यालयहरूले शिक्षक तथा कर्मचारीहरूको काम गरिसकेको समयको तलब नदिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

फाइल तस्वीर

युनियन नगर समितिको आकस्मिक बैठकले शैक्षिक वर्ष २०७६ सालको चैत्र महिनाको शिक्षक कर्मचारीको पारिश्रमिक रोकेर विद्यालय सञ्चालकहरूले अन्याय गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको ठहर गरेको हो । वर्षभरि काम गरेका शिक्षक कर्मचारीलाई संरक्षण गर्नु पर्ने दायित्व भएका विद्यालय सञ्चालकहरूले काम गरेको समयको पारिश्रमिक रोकेपछि युनियनले चासो र चिन्ता व्यक्त गरेको हो ।
नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा संस्थागत विद्यालयमा काम गरेर जीविका चलाइरहेका शिक्षक तथा कर्मचारीहरूले काम गरेको समयको तलव भत्ता रोकेर विद्यालय सञ्चालकले बौद्धिक श्रमिकको बाँच्न पाउने अधिकारमाथि नै हस्तक्षेप गरेको ठहर समेत गरेको छ ।

त्यस्तै बैठकमा संस्थागत विद्यालयको शैक्षिक उन्नयनमा अहोरात्र खटिने शिक्षक कर्मचारीको दैनिक गुजाराको आधार विद्यालय भएको वास्तविकता बुझेर सञ्चालकहरूले नाफा घाटाको नजरबाट नहेर्नका लागि आग्रह समेत गरिएको छ ।
यता संस्थागत विद्यालय सञ्चालकहरूको साझा संस्था प्याब्सन भद्रपुर नगर अध्यक्ष डिल्ली दुलाल भने काम गरिसकेको समयको पारिश्रमिक रोक्नु नहुने भन्दै शिक्षक कर्मचारीको दैनिक गुजारा चलाउन परेको समस्या हलका लागि विद्यालय सञ्चालक जिम्मेवार रहनु पर्ने बताउँछन् ।
संस्थागत विद्यालय शिक्षक युनियन प्रदेश १ का सहसचिव राजु वराल भने गएको शैक्षिक वर्षको अधिकांस शुल्क उठाइसकेका संस्थागत विद्यालय सञ्चालकहरूले अटेर गरेर शिक्षक कर्मचारीको पारिश्रमिक रोक्नु कानुनी अपराध भएकोले श्रम अदालतको ढोका ढकढकाउनु पर्ने अवस्था आएको बताउँछन् ।
भद्रपुर नगर क्षेत्रमा ३३ वटा संस्थागत विद्यालय रहेकोमा ३ वटा विद्यालयले मात्र चैत्र महिनासम्मको पूरै पारिश्रमिक भुक्तानी गरेका छन् भने २ वटाले आधा पारिश्रमिक दिएर झारा टार्ने काम गरेको पाइएको छ । पूरा पारिश्रमिक दिने विद्यालयमा एमरल्ड एकाडमी, गुरूकुल पब्लिक स्कुल र डोल्मा मेमोरियल रहेका छन् भने आधा पारिश्रमिक मात्र दिने विद्यालयमा विभूति विद्या मन्दिर र इष्टपोइन्ट अंग्रजी माध्यमिक विद्यालय रहेको त्यहाँ कार्यरत शिक्षक कर्मचारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्