राजेन्द्र गौतम,
झापा ( वैशाख २८ ) । निर्धारित दायरा तोड्ने सब्जी व्यापारीलाई दक्षिणी झापाका गृहणीहरुले जताबाट आयो त्यतै फर्काइदिन थालेका छन् ।

ब्यापारीलाई रोक्दै स्थानीय

एक गाउँबाट अर्को गाउँ नजान प्रहरीले दिएको निर्देशन सब्जी व्यापारीले उल्लंघन गर्न थालेपछि गृहणीले त्यस्तो कदम चालेका हुन् । दक्षिणी सीमावर्ती खजुरगाछीकी सावित्रा पराजु्लीले भनिन्,‘ पछिल्ला दिनमा नचिनेका सब्जी व्यापारी गाउँगाउँमा आउन थालेपछि बाध्य भएर उनीहरुलाई फर्काउनु परेको हो ।’ उनले नचिनेका व्यक्तिलाई गाउँमा निर्वाभ घुम्न दिँदा कोरोनाको संक्रमण हुने त्रास बढेकाले उनीहरुलाई गाउँमा नछिरिदिन भनेको बताइन् । सबैलाई खुल्ला छोड्दा गाउँमा भारतीय सब्जी व्यापारी पनि छिर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर त्यस्तो गरिएको स्थानीयको भनाइ छ । मीठो खाने भन्दा पनि बाच्नु ठूलो कुरा भएकाले टाढा र नचिनेका सब्जी व्यपारीलाई गाउँ प्रवेशमा रोक लगाइएको उनीहरु बताउँछन् । जसोतसो घरकै उत्पादन खाएर गुजारा टार्ने पक्षमा आफूहरु रहेको कोरोबारीकी रिता चौहानको भनाइ छ । उनले यस्तो बेला सबैले सचेत हुनु पर्ने बताइन् । ‘कसैको उत्पादन खेर जानू हुँदैन, सबैले व्यापार र उपभोग गर्न पाउनु पर्छ ’उनले भनिन् ,‘ तर कोरोना संत्रासको यो बेला आफ्नै गाउँमा सुफत मुल्यमा बिक्री गर्नु हरदृष्टिले राम्रो हो ।’ खुल्ला सीमा भएका कारण लिकीछिपी भारतीय व्यापारी पनि गाउँ पस्ने भयले गाउँमा रोक लगाइएको हो । स्थानीय व्यापारीलाई निर्वाध अल्लो गाउँ पल्लो गाउँ गर्न दिँदा थप समस्या सिर्जना हुने गृहणीहरु बताउँछन् ।

अस्थायी प्रहरी चौकी कुञ्जीबारीका असइ दीपक कडेल ठेला लिएर हिड्ने व्यापारीको निगरानी बढाइएको बताए । उनले भने,‘ लकडाउन सुरु भएदेखि नै नचिनेका र टाढाका व्यापारीलाई जनप्रतिनिधिसँगको समन्वयमा गाउँ पस्न रोकिएको छ । ’ स्थानीय व्यापारीलाई पनि आफ्नो टोल गाउँबाट अन्यत्र नजान निर्देशन दिइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्