चितवन, जेठ ३ । आज नेपाल कम्युनिस्ट पार्टी नेकपाले २७ औं मदन आश्रित स्मृति दिवस मनाउँदै छ ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत २ वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले सो कार्यक्रम गर्दै आएको छ ।
नेकपा चितवनका नेताहरुले पनि आज मदन आश्रितको दुर्घटना भएको स्थान दासढुंगामा पुगी उनीहरुको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । वि.सं.२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । सो दिनको सम्झनामा नेकपाले जेठ ३ गते सो दिवस मनाउँदै आएको छ ।
आज दिवसमा काठमाडौंमा नेकपाका नेताहरुले स्वर्गीय नेताहरुको तस्बिरमा माल्यार्पन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेकपाका नेताहरुले स्वर्गीय नेताहरुको तस्बिरमा माल्यार्पन गर्नेछन् । घटनाको छानबिन नभएको भन्दै तत्कालीन एमालेभित्र आलोचना हुने गरेको थियो ।
पोखराको सभालाई सम्बोधन गरी चितवनतर्फ जाँदै गर्दा चितवनको कविलासस्थित दासढुंगामा भण्डारी र आश्रित दुर्घटनामा परेका थिए । जिप त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भएपनि जिप चालक अमर लामा जीवित रहेका थिए । लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।

मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई अझै परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता रहेको कम्युनिस्ट नेताहरूले बताउँदै आएका छन् ।उनीहरूले भण्डारीको जनताको बहुदलीय जनवाद अहिले पनि सान्दर्भिक रहेको बताउँदै उनी जस्तो नेता देशलाई खाँचो भएको औंल्याउँदै आएका छन् ।
भण्डारी कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्पर्कबाट कम्युनिस्ट आन्दोलनमा लागेका थिए । उनी तत्कालीन नेकपा मालेको केन्द्रीय पोलिटब्युरो सदस्य हुँदै २०४६ सालदेखि त्यस पार्टीको महासचिव बनेका थिए । विश्वभर कम्युनिस्ट शासन पतन भइरहेका बेला सन् ९० को दशकमा जनताको बहुदलीय जनवाद नामक प्रजातान्त्रिक विचारको प्रतिपादन गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई प्रजातान्त्रीकरण गरेपछि मदन भण्डारी विश्वभर चर्चाको शिखरमा पुगेका थिए ।
डुब्न लागेको कम्युनिस्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धामा लगेर बचाउन सफल भएका जननेता भण्डारीलाई एक चर्चित अमेरिकी पत्रिकाले कार्ल माक्र्स नेपालमा जीवित छन् भनेर लेखेको थियो ।उनले २०४८ सालको संसदीय चुनावमा नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए । मदन भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारी हाल मुुलुकको राष्ट्रपति रहेकी छन् । तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितकी धर्मपत्नी माया ज्ञवाली पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य छिन् । उनी प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिकतर्फको सांसद समेत रहेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्