शिवसताक्षी, जेठ २ । कोरोना भाइरस (कोभिड— १९)का संक्रमित नेपालमा बढ्दै जाँदा झापाको शिवसताक्षी नगरपालिकाले लकडाउन कार्यान्वयनमा थप कडाइ गर्ने भएको छ ।

लकडाउनको ५३ आंै दिन शुक्रबार साँझ ७ बजेसम्म कोरोना भाइरसका संक्रमितको संख्या २६७ पुगेपछि नगरले थप सतर्कताका लागि लकडाउनमा कडाइ गर्ने भएको हो ।
शुक्रबार नगर समन्वय समितिको बैठकमा सहभागी अधिकाँसले लकडाउनमा थप कडाइ नगरे भाइरसको जोखिम निम्तिन सक्ने भन्दै शिवसताक्षी नगरका औषधी पसल र कृषिका पसलबाहेक बन्द गर्ने निर्णय भएको छ । नगरका गैरमल, बीउ र औषधी पसल अब खोल्न नपाइने भएको हो । नगरमा यसअघि ४ घन्टा खाद्यान्न लगायत हार्डवेयरका पसल खोल्न व्यवसायीलाई अख्तियारी दिइएको थियो । शुक्रबार राति १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि नगरभित्रका पसल बन्द गर्ने, विना पासका सवारी साधन चलाएर लकडाउनको अवज्ञा गर्नेलाई कारबाही गर्ने निर्णय भएको हो ।
यस्तै अति आवश्यक कामबाहेक घर वाहिर निस्किए कारबाही गर्ने नगरका प्रवक्ता नविन ईजमले जानकारी दिए । सर्वसाधारणले अति आवश्यक काम परेर घर बाहिर निस्कनु परे स्थानीय प्रशासनको समन्वय आवश्यक पर्ने निर्णय भएको छ ।
बैठकमा तरकारी पसल पनि बन्द गर्ने निर्णय भएको छ । तरकारी पसलमा न्यूनतम व्यक्तिगत दुरी कायम नगरी सर्वसाधारणको भीड देखिन थालेपछि नगरले तरकारी पसल पनि खोल्न बन्देज लगाएको हो । गृह मन्त्रालयको पास र आवश्यक कागजात भएका ढुवानीका साधनलाई प्रतिवन्ध नलगाइएको प्रवक्ता ईजमले जानकारी दिएका छन् ।
शिवसताक्षी नगरको सताक्षीधाम, दोमुखा जस्ता पर्यटकीय स्थलमा सर्वसाधारणको आवतजावत बढ्न थालेपछि ती क्षेत्रमा पनि कडाई गरिएको छ । पर्यटकीय क्षेत्रमा अनावश्यक भीड नगर्न नगरपालिकाले सर्वसाधारणलाई अनुरोध गरेको छ । नगर प्रमुख चन्द्रकुमार सेर्माले नगर समन्वय समितिले गरेको निर्णय अटेर गरेर पसल खोल्ने, लकडाउनको अवज्ञा गर्ने जो कोही पनि कारबाहीको भागिदार बन्ने चेतावनी दिए ।

यसैबीच शिवसताक्षी नगरको कोरोना भाइरस संक्रमण रोकथाम तथा राहत वितरण कोषमा जम्मा भएको ३२ लाख ९३ हजार ५९ रुपैयाँबाट खर्च भएको २४ लाख २८ हजार १ सय ८५ बैठकले अनुमोदन गरेको छ । कोषमा अब ८ लाख ६४ हजार ८ सय ७४ रुपैयाँ मोज्दात छ । यस्तै बैठकले क्वारेन्टाइनको क्षमता विस्तार गर्ने निर्णय पनि गरेको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित आदिवासी जनजाति सामुदायिक भवनमा क्वारेन्टाइन विस्तारको नगरपालिकाले तयारी सुरु गरेको छ । यस अघि १८ बेड क्षमताको क्वारेन्टाइन सोही वडाको झरना प्राथमिक विद्यालयमा स्थापना गरेको थियो । आदिवासी जनजाति सामुदायिक भवनमा कम्तिमा ३० बेड क्षमताको क्वारेन्टाइन निर्माण हुने नगर प्रमुख सेर्माले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्