राजेन्द्र गौतम , झापा जेठ ५ । सरकारले सीमामा गिद्देदृष्टि लगाइरहेको बेला भारतीय नागरिक नेपाली सुरक्षाकर्मी उपर आक्रमणमा उत्रिएका छन् । दुई साता बीचमा दुईपटक नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि भारतीय पक्षको नियत उदाङ्गो भएको हो ।

वैशाख २२ मा झापा गाउँपालिका —४ को सीमा पिलर १३१ नजिक रहेको सशस्त्र प्रहरी पोस्टमा आक्रमण भयो । त्यसपछि शनिबार राति झापाको दक्षिणी सीमा घेराबारीमा तैनाथ सशस्त्र प्रहरी अस्थायी पोस्टमा भारतीय नागरिकले फेरि आक्रमण गरे । सयौंको संख्यामा हुल बाँधेर आएको भारतीय उदण्ड समूहले १२५ नम्बर सीमा पिलर नजिक रहेका सशस्त्र पोस्टलाई घेरा हालेर आक्रमण गरेको हो । आक्रमणबाट सशस्त्र प्रहरीको अस्थायी पोष्टमा क्षति भएको छ । बाध्य भएर सशस्त्र प्रहरीले हवाइ फायर गर्नु पर्यो । झापामा दुई र घेराबारीमा एक राउन्ड गोली चलाएपछि भारतीय नागरिक पछि हटे । तर नियतमा खोट छ । भारतीयको दादागिरी र नियत नहटेको कचनकवलका नारायणसिंह राजवंशी बताउँछन् । ‘हामीबीच रोटीबेटीको सम्बन्ध छ, यसमा कुनै शंका छैन’ उनले भने,‘ यसलाई भारतीय पक्षले संकटको यो बेला बुझेन बल मिच्याइ गर्यो, यो उसको गम्भीर गल्ती हो ।’ खेतीमा जाने मानिस एकदुई जना जाने हो हुल बाँधेर प्रहरीमाथि जाइलाग्नुलाई राम्रो मान्न नसकिने उनले तर्क गरे । नेपालमा आफूहरुले गरेको खेतीमा जान पाउनु पर्ने, खुलेआम गाईवस्तु चराउन पाउनु पर्ने ,पाहुना जान पाउनु पर्ने बेकामे निहुँ झिकेर भारतीय पक्ष आक्रमणमा उत्रिएको हो । कचनकवल —१ का देभा गणेशले विहारको सुरिभिट्टातर्फबाट आक्रमण भएको बताए । उनी रातिराति जम्मा भएर हिड्नु र आक्रमणमा उत्रनु भारतीय पक्षको बेइमानी भएको बताउँछन् । कचनकवल गाउँपालिका —१ घेराबारीको झन्टुगाउँमा रहेको सशस्त्र प्रहरीको सुरक्षा पोष्टमा भएको आक्रमणलाई झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले बल मिच्याई र हेपाहा चरित्र भनी टिप्पणी गरे । भारतीय पक्षले बहाना बनाएर हेप्ने र प्रहरी पोष्टलाई निसाना बनाइरहेको भन्दै उनले आपत्ति प्रकट गरे । ‘ यो उनीहरुको हेपाहा प्रवृत्तिको एउटा उदाहरण मात्रै हो ’उनले भने,‘ सहज रुपमा आवागमन गर्न पाउनु पर्ने माग यो बेला कुनै पनि हालतमा पूरा गर्न सकिन्न ।’ उनले कुनै न कुनै खराब नियतले घुसपैठ गर्न खोजेको बताए । एसपी कोइरालाले भारतीय पक्षले आक्रमण नरोके सीमामा खटिएका नेपाली सुरक्षाकर्मी चुपचाप अन्याय सहेर र ज्यान जोखिममा पारेर मुकदर्शक बन्न नसक्ने चेतावनी दिए ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राणामगरले सुरक्षाकर्मी माथिको आक्रमणलाई प्रशासनले गम्भीर रुपमा लिएको बताए । उनले भारतीय सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिले घटना दोहोरिन नदिने प्रतिबद्धतासहित माफी मागेको बताए ।‘ घटनालाई लिएर प्रशासनले समकक्षीसँग कुरा राखेको छ’ उनले भने,‘ आइतबार बिहान भएको वार्तामा भारतीय पक्षले माफी मागेको छ ।’ उनले नेपाली सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । घटनाको प्रदेशसभा सांसद वसन्त बानियाँले निन्दा गरे ।उनले घटनालाई नियोजित भएको बताए । ‘ सीमा सिल छ, दुबैपट्टि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ’ उनले भने,‘ यो बेला सयौं भारतीय नागरिक नेपाली भूमिमा आएर सुरक्षा पोष्टमा आक्रमण गर्नु नियोजित घटना नभए के हो ? ’ उनले नेपाली सुरक्षाकर्मीलाई साधन स्रोत सम्पन्न बनाएर राख्नु पर्ने बताए । सांसद बानियाँले घटनालाई भारतीय पक्षको दादागिरी र हेपाहा प्रवृत्तिको संज्ञा दिए । नेपालका कचनकवल —१ का वडाध्यक्ष लक्ष्मीप्रसाद यादव, सशस्त्र प्रहरीका इन्स्पेक्टर, नेपाल प्रहरी र स्थानीयले वार्ता गरेका हुन् । वार्तामा भारतीय पक्षले आक्रमणमा संलग्नको पहिचान गरेर कार्बाही गर्ने प्रतिबद्धता जनाएको छ । केही आक्रमणकारीको पहिचान गरिएको र उनीहरूलाई कार्बाही गरेर सीमामा यस्तो घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएको छ । आफूहरुसित वार्ता भएको र भारतीय आफ्ना तर्फबाट कमजोरी भएको स्वीकार्दै माफी मागेको बताइए पनि भारतीय पक्षले फेरि आक्रमण नगर्ला भन्न सकिने अवस्था नरहेको कचनकवलका नवराज भट्टराईको ठम्याई छ ।
झापा गाउँपालिकामा भएको घटनामा पनि त्यहाँका जनप्रतिनिधि र सुरक्षा निकायका मानिसले नेपाली पक्षसित माफी मागेका थिए । त्यसको १३ दिनकै बीचमा आक्रमण भएकाले विश्वास गर्ने आधार भने छैन । घटनाको प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले भर्त्सना गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ,‘ कचनकवल १ घेरावारीमा सीमा सुरक्षामा रहेका सुरक्षाकर्मीमाथि भारतीय नागरिकबाट भएको आक्रमण प्रयासको भर्त्सना गर्दछु ।’सशक्त प्रतिकार गरी आक्रमणकारीलाई धपाउन सफल सुरक्षाकर्मी र स्थानीयलाई उनले धन्यवाद दिएका छन् । झापामा भएको घटनाप्रति प्रदेश सांसद हिरा थापाले आपत्ति प्रकट गरेका थिए । उनले आक्रमणकारीलाई कारबाही गर्नु पर्ने माग गरेका थिए । तर , त्यो काम भारतीय पक्षले गरेन । थापाले त्यसबेला यस्ता घटनाले नेपाल— भारतबीचको सम्बन्धमा असर पर्ने बताए पनि भारतीयले फेरि आक्रमण गर्नु गल्ती हो । बारम्बार आक्रमणमा उत्रनु,सीमा सिल भएको बेला हुलहुज्जत र जोरजुलम गर्नु, कोरोनाको सन्त्रासको बेला नेपाल छिर्न खोज्नु र नपाउँदा आक्रमणमा उत्रनु भारतीय पक्षको खराब नियत हो । त्यो भन्दा बढी चाहिँ हतारहतार माफी माग्नु र फेरि आक्रमण गर्नु भारतीयको दोहोरो चरित्र भएको जानकारहरु बताउँछन् ।



प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्