उदयपुरमा ३३, झापामा २७, धनकुटामा ७, मोरङमा ४, सुनसरीमा ३ तथा खोटाङ र भोजपुरमा १र१ संक्रमित

विराटनगर,जेठ ८ । प्रदेश १ मा बुधबार एकैदिन १७ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ।

बुधबार दिउँसो झापाका ५, सुनसरीका १ र धनकुटाका १ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा राति ११ बजे झापाका थप १० जनामा कोरोना पुष्टि भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको सूचना डेक्सका अनुसार प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका थप १० जनामा कोरोना पोजेटिभ देखिएको हो । यसअघि सोही प्रयोगशालामा गरिएको परीक्षणमा झापाकै ५ जनामा कोरोना देखिएको थियो । उनीहरु सबै कचनकबल गाउँपालिकाका छन् । सो पालिकामा यसअघि नै ९ जनामा कोरोना पुष्टि भएको थियो ।

उता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटाका एक पुरुष र धरानका एक महिलालाई कोरोना पुष्टि भएको छ । यसअघि धनकुटामा ६ जना संक्रमित भेटिएकोमा थप परीक्षण गर्दा एक जना भेटिएको हो । प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको छ । सूचना डेस्कका अनुसार बुधबारसम्म पिसिआरबाट ३ हजार ७ सय ७ जनाको परीक्षण भएको छ । यस्तै आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ । प्रदेशसमा सबैभन्दा धेरै उदयपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै झापामा २७ जना, धनकुटामा ७ जना, मोरङमा ४ जना, सुनसरीमा ३ जना, खोटाङमा एक जना र भोजपुरमा एक जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमित भएकामध्ये २६ जना निको भएर घर फर्किएका छन् ।
प्रदेशमा थपिएका संक्रमितको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गरिसकेको छैन । थप संक्रमितसँगै प्रदेशमा जम्मा संक्रमितको संख्या ६६ पुग्दा देशभर ४४४ संक्रमित भएका छन् । संक्रमित २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्