झापा, जेठ ८ । कचनकवल भारतको विहारसँग खुला सीमा जोडिएको गाउँपालिका हो । मुलुककै होचो भूमि कचनकवल ४८ किलोमिटर क्षेत्रफलमा अवस्थित छ । पूर्व र दक्षिणमा विहार सीमा पर्छ । उत्तरमा झापाको सदरमुकाम भद्रपुर नगरपालिका र पश्चिममा बाह्रदशी गाउँपालिका छ ।
चार दिनको बीचमा ३५ जनामा संक्रमण पुष्टि भएपछि कचनकवल कोरोना इपिसेन्टर बन्ने खतरा बढेको छ ।

बुधबार यहाँ आएका प्रदेश —१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले झापामा खतराको घण्टी बजेको सङ्केत गरे । जिल्लास्तरीय कोरोना रोकथाम , नियन्त्रण तथा अनुगमन समितिको बैठकमा सहभागी बनेका मन्त्री घिमिरेले झापा ‘डेन्जर जोन’मा परेको बताए ।
संक्रमितको बढ्दो तथ्याङ्कले पनि झापा इपिसेन्टर बन्ने सम्भावना देखिएको छ । बिहीबार दिउँसोसम्म संक्रमण पुष्टि भएका सबै ३३ जना कचनकवलका बासिन्दा हुन् । भौगोलिक अवस्था र सामाजिक अवस्थितिका कारण पनि संक्रमण बढेको जानकारहरुको बुझाइ छ ।

बसोबासको अवस्था
४० हजारबढी जनसंख्या रहेको कचनकवलमा पहाडी समूदायको बसोबास निक्कै कम छ । यहाँ १५ प्रतिशत मुस्लिम र ३५ प्रतिशत राजवंशी समूदायको बसोबास रहेको छ । साविक केचना, पथरिया, बालुवाडी, घेराबारी, पाठामारी र बनियानी गाविस गाँभिएर कचनकवल बनेको हो । यहाँको ८५ प्रतिशत जनसंख्या कृषिमा निर्भर छ । यहाँको साक्षरता प्रतिशत ६८ छ । सन्थाल, गनगाईलगायतका आदिवासी जनजातिको पनि बसोबास छ । कचनकवल गन्धर्व समूदायको बसोबास रहेको प्रदेश —१ मा भोजपुरको अरुणपछिको एक मात्र गाउँपालिका हो ।

स्वास्थ्य सेवा
गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्रसहित पाँच वटा स्वास्थ्य केन्द्र छन् । बनियानी प्राथमिक स्वास्थ्य केन्द्रमा एमबीबीएस डाक्टरको सेवा उपलब्ध छ । स्वास्थ्य केन्द्रमा अहेवको सेवा उपलब्ध रहेको स्वास्थ्य शाखाले जनाएको छ । एउटा वडामा मात्रै स्वास्थ्य चौकी छैन ।

सुरक्षाको अवस्था

सुरक्षाका दृष्टिले पनि यो गाउँपालिका खासै कमजोर छैन । यद्यपि,अहिले पनि त्यहाँ भारतबाट लुकिछिपी मानिस प्रवेश गरिरहेका छन् । केचना र घेराबारीमा सशस्त्र प्रहरीको बेस क्याम्प छ । सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरीले हेर्छ । केचनामा अस्थायी प्रहरी चौकी र बनियानीमा इलाका प्रहरी कार्यालय छ । कोरोना संक्रमणपछि १० वटा भन्दा बढी अस्थायी पोस्ट निर्माण गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कति छन् शिक्षण संस्था
कचनकवलमा एक क्याम्पससहित २९ वटा विद्यालय रहेको प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले बताए । यहाँ चारवटा मस्जिद र पाँचवटा बढी मदरसा रहेका छ्न् । त्यहाँका चारवटा विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको छ । क्वारेन्टाइनमा २२२ जना राखिएको छ । ती सबै भारतको विभिन्न ठाउँबाट आएका व्यक्ति हुन् । तीमध्ये एक जना भारत सिक्किमको नागरिक भएको जनाइएको छ । प्रशासकीय अधिकृत पौडेलका अनुसार पथरिया माविको क्वारेन्टाइन सिल गरिएको छ । त्यहाँ राखिएका ३३जना मध्ये १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको हो ।

यस्तो छ तयारी
महेन्द्ररत्न मावि केचनामा ९५ जना अट्ने र जानुका मावि पाठामारीमा ३० वेड क्षमताको क्वारेन्टाइन बनाइएको छ । लक्ष्मीप्रसाद देवाकोटा मावि सुकनाडिगीमा ६५ वेडको क्वारेन्टाइन बनाइएको छ । बनियानीमा १५० वेडको क्वारेन्टाइन निर्माणको काम आजदेखि धमाधम भइरहेको छ ।त्यहाँ राखिएकामध्ये २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुलाई तीनवटा एम्बुलेन्समार्फत कोरोना अस्पताल बिराटनगर पठाइएको छ । गाउँपालिका, रेडक्रस र दमकबाट एउटा एम्बुलेन्स मगाएर उनीहरुलाई बिराटनगर पठाएको प्रशासकीय अधिकृत पौडेलले बताए ।
अध्यक्षको माग
गाउँपालिकाका अध्यक्ष अन्जार आलमले अहिलेको भयावह अवस्थालाई काबु बाहिर जान नदिन संघीय सरकार र प्रदेश— १ सरकारसँग आग्रह गरेका छन् । “ दिनमा १०— १५ जनाका दरले संक्रमितको संख्या थपिदै गएको छ, यो निकै चुनौतीपूर्ण अवस्था हो” उनले भने,“ उदयपुरको भुल्केमा जस्तो सहयोग भएन भने,हाम्रो मात्रै प्रयासले संक्रमण नियन्त्रण गर्न असम्भव हुन्छ ।” उनले भारतबाट हिजो ८० जना कचनकवलबासी आएको जानकारी दिए । सीमामा आएर अलपत्र परेकालाई आउन नदिए समस्याले अर्को रुप लिने उनको भनाइ छ । “ आउने मानिस बाहिरका होइनन्, सबै यहीँका हुन् ” उनले भने,“ जबर्जस्त रोकियो भने उनीहरु चोर बाटोबाट छिर्छन् र संकमण झन् फैलने डर हुन्छ।” परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्न समेत नपाउँदा समस्या दिन दुई गुना रात चौगुना बनेको छ । भारतबाट आएका कसैलाई पनि गाउँ पस्न नदिँदा पनि यस्तो अवस्था आएको बताएका अध्यक्ष आलमले भने,“ कसैलाई पनि गाउँ पस्न नदिने हो भने कोरोना मुक्त कोही हुदैन ।”
सीमाबाट ल्याएका सबैलाई क्वारेन्टाइनमा राखेकाले संक्रमण समूदायमा हुन नपाएको हो । पुरै गाउँपालिका सिल गरे पनि सीमामा आएर प्रहरी,जनप्रतिनिधिलाई खबर गर्नेलाई मात्रै ल्याउने गरिएको छ । खबर नगरी कोही पनि नछिरेको बताइन्छ ।

संक्रमण बढ्नुको कारण
क्वारेन्टाइनमा बस्ने व्यक्तिको लापरबाही र जबर्जस्तीपनले कोरोना संक्रमितको संख्या बढेको गाउँपालिका स्रोतको निश्कर्ष छ । “ भारतमा सँगै बसेका साथीभाइ भएकाले पनि समस्या भएको छ ” क्वारेन्टाइनको रेखदेखमा खटिएका एक व्यक्तिले भने,“ हामीले ४०— ५० फिट परबाट भन्ने हो उहाँहरुले अटेरी गर्दा संक्रमण बढ्यो ।” क्वारेन्टाइनमा खानेबस्नेको समस्या नभएको ती व्यक्तिले दाबी गरे । क्वारेन्टाइनमा स्वास्थ्यकर्मीसहितको टोली परिचालित भएको गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद यादवले बताए । उनले संक्रमण रोक्न गाउँपालिकाले सबै शक्ति खर्चिएको जनाए ।
अस्पताल निर्माणको तयारी
झापामै कोभिड अस्पताल सञ्चालन र पीसीआर टेस्ट गर्ने प्रयोगशाला निर्माण हुने भएको छ । झापाको कोरोना संक्रमण, रोकथाम, अनुगमन तथा समन्वय समिति झापाको बैठकले उक्त निर्णय गरेको हो । ‘झापामा एउटा कोरोना अस्पताल र पीसीआर प्रयोगशाला बनाउने निर्णय भयो’ समितिका संयोजक सोमनाथ पोर्तेलले भने ।
ती दुबै कामका लागि समितिले स्थानको खोजी गर्ने छ ।पछिल्लो समयमा झापाका कोरोना संक्रमणको दर उच्च देखिएको र भारतबाट आउने नेपालीको संख्या बढ्दै गएपछि समितिले यस्तो तयारी गरेको हो। बैठकमा सामाजिक विकास मन्त्री घिमिरेको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्