भद्रपुर, जेठ ९ । झापामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिले फैलिरहेको अवस्थाको जिम्मेवारी प्रहरी प्रशासनको टाउकोमा थुप्रिएको छ । बन्दाबन्दी कार्यान्वयनका लागि सीमा बन्दको जिम्मेवारी लिएका प्रहरी प्रशासनले सरकारको निर्णय अनुसार भारतीय सीमा क्षेत्रबाट हुने लुकीछिपी नेपाल प्रवेश रोक्न नसकेपछि कोरोना संक्रमण तीव्र भएको हो ।

झापामा देखिएको कोरोना संक्रमितको विवरण अध्ययन गर्दा भारतबाट केही दिनयता नेपाल प्रवेश गर्ने व्यक्तिहरू नै बढी संक्रमित पाइएका छन् । ती व्यक्तिहरू सरकारी निर्णयले नेपाल प्रवेश गरेका नभएर सीमा क्षेत्रमा परिचालित सुरक्षाकर्मीसितको समन्वयमै प्रवेश गरेको बताउने गर्छन् । भारतबाट च्यानल मिलाएर नेपाल पसेका अधिकांसमा कोरोना संक्रमण देखिएको छ ।
हरेक ५ सय मिटरको दुरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको भिन्नाभिन्नै सुरक्षा पोष्ट राखेर सीमा सिलको जिम्मेवारी दिइएको छ । बन्दाबन्दी पालना गराउन सरकारले नेपाल भारत सिमानामा झापा जिल्लाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरी १५९ अस्थायी पोष्ट खडा गरेको छ । जसमा सशस्त्र प्रहरीको १२८ र नेपाल प्रहरीको ३१ वटा अस्थायी पोष्टमार्फत सीमा सिलको जिम्मेवारी निर्वाह गरिरहेका छन् । नेपाल भारत सीमा क्षेत्र झापा जिल्लामा १४४.२ किलोमिटर रहेको छ । जसमा सीमा सुरक्षा बलका स्थायी रूपमा रहेका ८ वटा सीमा सुरक्षा पोष्टमा कार्यरत प्रहरी निरीक्षकसहित १६ जना प्रहरी निरीक्षकले नेतृत्व गरेर सीमा बन्दका लागि काम गरिरहेका छन् भने सीमा क्षेत्रमा एक हजार १९३ जना सुरक्षाकर्मी परिचालित छन् ।
तर, पछिल्लो समय भारतीय सीमा नाकाबाट लुकीछिपी आउने मानिसको संख्या बढ्दै जाँदा कोरोना सर्ने त्रास स्थानीयमा बढ्दो छ । केही मोटरसाइकल, गाडी ग्यारेजका मानिसहरू पैसा लिएर मानिस वारपार गर्ने अवैध व्यापारमा लागेको समेत स्थानीयको भनाइ छ । त्सैगरी नेपालबाट घरेलु मदिरा र गाई गोरू भारतिर लैजाने र भारतमा अलपत्र परेका भनिएका नेपाली नेपाल ल्याउने गिरोह सकृय रहेको सीमा आसपासका बासिन्दा बताउने गर्छन् । यस कार्यमा नेपाल भारत दुवै देशका सुरक्षाकर्मीको मिलिभगत रहेको बताइने गरिन्छ । दैनिक दुई सयभन्दा बढी व्यक्तिहरू झापाको बाहुण्डाँगीदेखि गौरीगञ्जसम्मका नाकाबाट नेपाल प्रवेश गरिरहेका छन् । ४ दिनको अवधिमा यी नाकाबाट एक हजारबढी व्यक्ति झापा प्रवेश गरिसकेको भए पनि यहाँका स्थानीय सरकार बन्दाबन्दी कडा पार्ने कागजी निर्णयमै सीमित देखिएका छन् ।
सीमा नाकामा सुरक्षाकर्मीको उच्च निगरानी रहेको भनिए पनि खुला सीमाका कारण झापा प्रवेश गर्ने क्रम बढिरहेको छ । यहाँका नाकाबाट भारतका विभिन्न शहरमा रोजगारीका लागि गएका नेपालीहरू दैनिकजसो रातको समयमा लुकिछिपी प्रवेश गर्ने क्रम रोकिएको छैन ।
कचनकवल गाउँपालिकाको औपचारिक विवरण अनुसार भारतीय सीमा क्षेत्रबाट लुकिछिपी प्रवेश गर्ने १९० जनालाई पक्राउ गरी ४ वटा विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । यसरी भारतीय सीमाबाट प्रवेश गर्नेहरूमध्ये ३३ जना कोरोना संक्रमित पुष्टि भइसकेका छन् भने अधिकांसलाई कोरोना संक्रमण रहेकाले परीक्षणको क्रम जारी छ ।

यता भद्रपुर नगरपालिकाले सीमा नाकाहरूबाट अनाधिकृत प्रवेश गर्ने व्यक्तिहरू, टोल वस्तीमा आएका शंकास्पद व्यक्तिहरूको विशेष निगरानी राखेर टोल विकास संस्थाका पदाधिकारी तथा संस्थागत, सामुदायिक विद्यालयका शिक्षकहरूले स्थानीय जनप्रतिनिधि वा प्रहरीलाई जानकारी गराउन निर्देशन जारी गरेको छ । यस्तै नगरपालिकाको बैठकले वैदेशिक रोजगारीमा रहेका र फर्कन चाहने वा फर्किएका व्यक्तिहरूको अभिलेख संकलन गरी अद्यावधिक गर्ने, नगरपालिका क्षेत्रका क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको विवरण यथाशिघ्र तयार गरी प्रतिवेदन तयार गर्ने निर्णय गरिसकेको छ । तर, अहिलेसम्म भारतीय सीमा क्षेत्रबाट भद्रपुर प्रवेश गरेका व्यक्ति पहिचान गरेर नियन्त्रणमा लिन नगर सरकारले सकेको अवस्था छैन ।
भद्रपुर नगरपालिकाभित्र ३ वटा क्वारेन्टाइन निर्माण गरिएको छ । भद्रपुर १ स्थित हिमाली मावि, भद्रपुर ८ स्थित मेची बहुमुखी क्याम्पस र भद्रपुर १० स्थित कलवलगुरी प्रशिक्षण केन्द्र भवनमा गरी ३ वटा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको हो । जसमा मेची क्याम्पस क्वारेन्टाइनमा २१३ तथा कलवलगुरी क्वारेन्टाइनमा ६८ जना राखिएको छ । यी सवै काँकरभिट्टासित सीमा जोडिएको पानी ट्यांकी नाकाबाट नेपाल प्रवेश गरेका नेपाली भएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्