झापा , जेठ १५ । प्रदेश—१ संसदको आज ११ बजे बस्ने बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताको बारेमा छलफल हुनेछ ।

प्राथमिकता तोकेर बजेट ल्याउने तयारी भएको अर्थ मन्त्रालयले जनाएको छ । बजेटको सिद्धान्त र प्राथमिकताको छलफल सकिएपछि प्रदेश प्रमुखले नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम तय भएको छ । असार १ गते बजेट प्रस्तुत हुँदैछ ।
प्रदेश १ को आगामी बजेट कोरोनाको रोकथाम, नियन्त्रण, उपचार, राहतसहित उत्पादनशील क्षेत्रमा लगानी र रोजगारी सिर्जनमा केन्द्रित हुने अर्थमन्त्री इन्द्रबहादुर आङ्वो मौसमले बताए ।
प्रदेशसभा —१ को बुधबार सुरु भएको बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०७७—७८ को बजेटमा रोजगारी, पूर्वाधार विकास , शिक्षा तथा स्वास्थ्यमा गुणात्मक सुधार गर्न केन्द्रित हुनेछ ।
महामारीबाट नागरिकलाई सुरक्षित राख्दै यसबाट पर्ने आर्थिक असर न्यूनीकरण र प्रदेशको आर्थिक विकासको खाका तय गरेर अगाडि बढ्नुपर्नेमा मन्त्री आङ्बोले जोड दिए । महामारीले संकट मात्र नभई विकासका लागि अल्पकालीन उपायको कार्यान्वयन तथा मध्यकालीन र दीर्घकालीन उपायको पहिचान गरिने उनको भनाइ छ ।
जारी लकडाउनको कारण देशको अर्थतन्त्र, सामाजिक क्षेत्र र अन्य क्षेत्रमा परेको प्रभावको अध्ययन गरी त्यसको निराकरणको उपाय खोजी गरिने मन्त्री आङ्वोले बताए । राहत तथा पुनःस्थापनामा केन्द्रित भई संक्रमणको जोखिम नियन्त्रण गर्दै आर्थिक गतिबिधिलाई पुनर्जीवन दिन नयाँ विश्वास, जागरण, क्रियाशील गर्न बजेट केन्द्रीत हुने मन्त्री आङ्बोले बताए । कोभिड— १९ को रोकथाम, नियन्त्रण र उपचार तथा भविष्यमा आउनसक्ने महामारीविरूद्ध लड्न स्वास्थ्य क्षेत्रलाई सबल र सुदृढ गर्ने पनि उनले बताए ।
कोरोनाको कारण रोजगारी गुमाएकालाई स्वरोजगार बनाउने कार्यक्रम तय गर्नेगरी उत्पादनमुलक र छिटो प्रतिफल दिने उद्यमलाई प्राथमिकता दिने उनको भनाइ छ ।
कोरोना भाइरसको त्रासबीचमा सामाजिक दुरी कायम गर्दै प्रदेशसभाको अधिवेशन सुरु भएको हो । बैठक २ वटा हलबाट सञ्चालन गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्