भद्रपुर, जेठ २५ । भद्रपुर— ९ स्थित हडिया खोला जल उपभोक्ता समितिले पुनरनिर्माण गरेको नहरको आम्दानी खर्च सार्वजनिक गरेको छ ।

समितिले आर्थिक वर्ष २०७६—७७ मा सिञ्चाइ डिभिजन कार्यालय झापाले दिएको करिव ५० लाख रकमबाट १६० मिटर नहर बेरियर सिस्टमबाट निर्माण सम्पन्न गरिँदा ५१ लाख हाराहारी खर्च भएको विवरण सार्वजनिक गरेको हो ।
निर्माण संयोजक चुडामणि मैनालीले दिएको जानकारी अनुसार २ मिटर चौडाइ तथा एक मिटर उचाइ क्षमताभित्र चारपाटे बक्स बनाएर रडमा कंक्रिट मिश्रण गरी मुहानपट्टिबाट १६० मिटर पक्की नहर निर्माण गरिएको छ । उपभोक्ताको सहभागिता २ लाख तथा सिञ्चाइ डिभिजनको अनुदानसमेत गरी ४९ लाख ३२ हजार ७२३ आम्दानी रहेको जानकारी दिँदै निर्माण संयोजक मैनालीले त्यसमा ५१ लाख खर्च भएको जनाएका छन् ।
नहर निर्माणस्थलमा पुरानो संरचनाका रूपमा ह्युमपाइपको पाइपलाइन रहेको थियो । पछिल्ला केही वर्षयता ह्युमपाइप धसिएर पाइपलाइनमा समस्या आउन थालेपछि पानी आपूर्तिमा अवरोध सिर्जना हुँदा सिञ्चित क्षेत्रका कृषकले आवश्यकता अनुसार पानी उपभोग गर्न पाएका थिएनन् । उपभोक्ता समितिका अध्यक्ष होमनारायण प्रधानको अध्यक्षता तथा वडा नम्बर ९ का कार्यवाहक अध्यक्ष रामप्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा झापा जिल्ला कमिटी सदस्य नरेश सञ्जेल, नेकपा प्रदेश कमिटी सदस्य विष्णुप्रसाद शिवाकोटी, दिननाथ उप्रेती लगायतले मन्तव्य राख्दै २०४३ सालदेखि सञ्चालित नहरको सम्पूर्ण वहावक्षेत्र पुनरनिर्माण गरिनु पर्ने आवश्यकता रहेको धारणा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्