बिर्तामोड, जेठ ३२ । झापामा पिसिआर ल्याब स्थापना गर्न सुरु गरिएको अभियानलाई जिल्लाका सहकारी संघसंस्थाबाट आज ७ लाख १२ हजार रुपैयाँ सहयोगको घोषणा भएको छ ।

एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना गर्न लागिएको ल्याब स्थापना गर्न सहकारी संघसंस्थाले २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस अन्तर्गत आज एकैदिन झापाका चार सहकारी संस्था, झापा जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकले रकम घोषणा गरेका हुन् ।
चारपानेमा भएको रकम घोषणा कार्यक्रममा सहारा नेपाल साकोसबाट १ लाख ५ हजार, पूर्व नेपाल साकोसबाट १ लाख २ हजार, पब्लिक साकोसबाट १ लाख १ हजार र हाम्रो नेपाल साकोसबाट १ लाख १ हजार रुपैयाँ सहयोग घोषणा भएको हो ।त्यस्तै, झापा जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकबाट समान १ लाख १ हजार रुपैयाँ प्रदान गर्ने घोषणा भएको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालका अनुसार संघको समन्वयमा अभियानलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्न लागिएको हो । एक साताभित्र रकम संकलन गरिसक्ने गरी संघले अन्य सहकारीसँग पनि समन्वय गरिरहेको छ । सामाजिक अभियान भएकाले झापाका सहकारी तथा सहकारीसँग सम्बद्ध देशभरका केन्द्रीय संघहरुलाई स्वेच्छिक रुपमा सहयोग गर्न जिल्ला संघले अपिल गरेको छ । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष तथा बैंकका पूर्वअध्यक्ष रमेश पोखरेल, नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्य घनश्याम अधिकारी, नेपाल कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष मिनाकुमारी ढकाल, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सबैलाई सहयोगको लागि अपिल गरेका थिए । पिसिआर ल्याब सञ्चालन गर्ने अभियानमा सहकारीको सबैभन्दा माथिल्लो निकाय पनि जोडिएको ढकालले बताए । ‘यो एकदमै खुसीको कुरा हो’, ढकालले भने, ‘यसले समाजमा राम्रो सन्देश दिएको छ ।’
ल्याब सञ्चालनका लागि अभियानले १५ लाख रुपैयाँ उपलब्ध गराएर सहयोग जुटाउन सुरु गरिएको छ । अभियानले दुई साताअघि रकम घोेषणा गरेको थियो भने ल्याब सञ्चालन गर्न आर्थिक संकलन तीव्र बनाएको छ ।कार्यक्रममा अभियानअन्तर्गत झापामा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापनाका लागि सहयोग जुट्ने क्रम जारी रहेको अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । संसारभर रहेका झापाली र संघसंस्था तथा अन्य क्षेत्रका दाताहरुसँग अभियानले सहयोगको अपिल गरेको छ । ल्याब सञ्चालन गर्न अन्तर्राष्ट्रिय झापाली समाजले पनि ३० लाख रुपैयाँको हाराहारीमा सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । ४० देशमा सञ्जाल रहेको समाजका अभियन्ताहरुले अनलाइन कोष खडा गरेर रकम संकलन गरिरहेको समाजका संरक्षक दिनेश पोखरेलले जानकारी दिए ।पिसिआर ल्याब स्थापना गर्न झन्डै एक करोड १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ल्याब सञ्चालनको जिम्मेवारी लिन झापाका कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकालाई अभियानले अनुरोध गरेको छ । ल्याब कहाँ राख्ने भन्ने टुंगो एक सातामा लाग्ने बस्नेतले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्