नयाँदिल्ली, असार ३ । लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ ।

भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ । वक्तव्यमा भनिएको छ—भारतीय र चिनियाँ सैनिकहरूबीच गलवान इलाकामा संघर्ष विराम भएको छ, जहाँ दुवै पक्षबीच १५—१६ जुनको रातमा भिडन्त भएको थियो। भिडन्त भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीयसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको छ । यस अघि भारतले गलवान क्षेत्रमा भएको भिडन्तमा सेनाका एक वरिष्ठ अधिकारीसहित तीन भारतीय सैनिकको ज्यान गएको पुष्टि गरेको थियो।चीनको तर्फबाट भारतीय सेनासँग भएको हिंसात्मक भिडन्तमा आफ्ना कति सैनिक हताहत भए भन्नेबारे कुनै विवरण सार्वजनिक भएको छैन।लद्दाखमा भारतले निर्माण गरेको एउटा सडकबारे विवाद उत्पन्न भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकले सीमा नाघेर ’चिनियाँ सैनिकलाई आक्रमण गरेर दुई पक्षका सीमा सुरक्षा बलबीच गम्भीर शारीरिक संघर्ष भएको’ बताएको समाचारमा जनाइएको छ।बेइजिङले आफ्नो पक्षमा भएको क्षतिको पुष्टि गरेको छैन। तर भारतीय सेनाले चिनियाँ सैनिकहरू पनि हताहत भएको दाबी गरेको छ।भारतीय पक्षले यो घटनामा गोली नचलेको दाबी गरेको छ। केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्