झापा , असार २४ । बिर्तामोडका एकसहित झापामा आज ६ जना कोरोना संक्रमित थपिएका छन् ।

आज संक्रमण पुष्टि हुनेमा बिर्तामोड नगरपालिका वडा नं ३ का ४७ वर्षिय पुरुष रहेका छन् । उनी साउदी अरबबाट फर्केर कंचनजंघा इन्स्टिच्यूट क्वारेन्टाइनमा बसेका थिए । योसँगै बिर्तामोडमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । यसअघि बिर्तामोड ४ का दुई पुरुष, वडा नं ७ एक महिला र पुरुष तथा वडा नं ५ का एक पुरुषमा संक्रमण देखिएको थियो । त्यस्तै आजै मेचीनगर नगरपालिकाका एक महिलासहित ५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा मेचीनगर नगरपालिका वडा नं १४ की ३५ वर्षिया महिला रहेकी छन् । उनी अतिथि सदन क्वारेन्टाइनमा बसेकी थिइन् । त्यस्तै मेचीनगर १ , ५, १० र १५ नं वडाका एक–एक जना पुरुषमा संक्रमण देखिएको छ । उनीहरु कवि शिरोमणि मावि, आदर्श मावि , काँकडभिट्टा मावि क्वारेन्टाइनमा बसेका थिए । संक्रमितहरु भारतबाट घर फर्केको जानकारी मिलेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या २९६ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्