शिवसताक्षी । झापाको स्थानीय तहमा पहिलोपल्ट महिला प्रमुख प्रशासकीय अधिकृतको रुपमा गीताकुमारी राईले जिम्मेवारी सम्हालेको तीन महिना पूरा भयो ।

उनले गत चैत २६ गतेदेखि शिवसताक्षी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेकी हुन् । २०४४ सालमा निजामती सेवामा प्रवेश गरेकी राईको स्थानीय तहमा यो पहिलो अनुभव हो । तर,गृह प्रशासनमा भने कुशल कार्यसम्पादन गरेको लामो अनुभव छ उनीसँग । वि.सं. २०२२ सालमा भोजपुरको दलगाउँमा पिता रणबहादुर राई र माता रामकुमारी राईको चार छोराछोरीमध्ये कान्छी छोरीको रुपमा जन्मिएकी उनले २०४४ सालमा निजामति सेवामा प्रवेश गरेकी थिईन् । शिक्षामा बीए र एलएलबी अध्ययन सकेर मुखिया सरहको राजपत्रांकित तृतीय श्रेणीबाट जागिर शुरु गर्ने उनी केही महिनाअघि उपसचिवमा बढुवा भएकी हुन् । ‘मैले सानो पदबाट जागिर शुरु गरेको थिएँ’ विगत संझदै उनी भन्छिन्,‘कुनै पनि काम सानो हुँदैन, लगन र इमान्दारिता भयो भने एकदिन अबश्य कदर हुन्छ । ’निजामति सेवामा प्रवेश गरी पहिलोपटक उनले कोष तथा लेखा नियन्त्रण कार्यालय इलाममा जागिर खाईन् । योग्यता, क्षमता र अनुभवका कारण उनलाई ०६२ सालमा गृह प्रशासनमा उक्लिने अवसर मिल्यो । २०६२ असारदेखि २०७६ चैतसम्म उनले त्यही क्षेत्रमै बिताईन् । त्यस अवधिमा जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रशासन कार्यालय उर्लाबारीमा बढी समय जनताको सेवामा बिताएकी उनले त्यसबीचमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारी भएर काम गर्ने अवसर पनि प्राप्त गरिन् । १४ वर्षसम्म गृह प्रशासन चलाएको उनीसँग अनुभव छ । खासगरी नागरिकता र राहदानी फाँटमा बसेर खटिँदा प्रत्यक्षरुपमा जनसेवा गर्ने मौका मिलेको अधिकृत राई बताउँछिन् । ‘ मैले १४ वर्ष जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने अवसर पाएँ त्यो मेरो सौभाग्य हो ’उनी भन्छिन्,‘ स्थानीय तहमा आएर जनताको अझ नजिक भएकी छु ।’ काम गर्ने क्रममा गृह र स्थानीय तहमा खासै फरक नभएको उनको बुझाइ छ । प्रशासन कार्यालयमा धेरै भीडभाडमा काम गर्नुपर्दा केही अप्ठ्यारो भएपनि त्यसलाई सहज रुपमा लिएर राष्ट्रसेवक कर्मचारीको भूमिका निर्वाह गरेको उनको भोगाइ छ । ‘नागरिकता र राहदानी बनाइदिने सवालमा कहिलेकाही अप्ठ्यारो पर्ने गथ्र्यो ’ उनी भन्छिन्,‘ नियत नराखी काम गर्दा म कहिल्यै विवादमा परिनँ । ’ राजनीतिक विचार , ब्यक्तिगत स्वार्थ, जातिपाति र नातागोताभन्दा माथि उठ्न सक्दा ब्यूरोक्रेसी कहिल्यै विवादमा नपर्ने उनको ठम्याइ छ । लामो अनुभवसहित स्थानीय तहमा काम गर्ने इच्छा लिएर झापा अर्जुनधारा निवासी राई शिवसताक्षी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आइपुगेकी हुन् ।इलाका प्रशासन कार्यालयमा शाखा अधिकृतको रुपमा रहेकी राई बढुवा भई स्थानीय तहकै पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भइन् । शिवसताक्षी नगरपालिकाबाट विष्णुबहादुर अधिकारीले विदा लिएको चार महिनापछि नगरपालिकाले राईलाई प्रमुख प्रशासकीय अधिकृत पाएको हो । त्यसबीचमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी उपसचिव शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहालले निमित्त भई सम्हालेका थिए । स्थानीय तहको अनुभव नभएपनि ऐन कानुनको परिधिभित्र रहेर नगरमा सुशासन कायम गर्दै विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने अधिकृत राई बताउँछिन् ।

जिल्लाका अन्य नगरपालिकाको तुलनामा शिवसताक्षी विकासका दृष्टिकोणले पछि परेको विकट नगरपालिका हो । त्यहाँ धरै विकास निर्माणका कामहरु गर्नुपर्ने आबश्यकता छ । शिवसताक्षी नगरपालिका भौगोलिक अवस्थितिका हिसाबले २६ डिग्री ३६ मिनेट ५५ सेकेण्ड उत्तरी अक्षांश र ८७ डिग्री ५० मिनेट ०७ सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ । यस नगरपालिकाको पूर्वमा कन्काई नगरपालिका, पश्चिममा कमल गाउँपालिका, दक्षिणमा गौरीगन्ज गाउँपालिका र उत्तरमा इलामको माई नगरपालिकासँग सिमाना जोडिएको छ । जिल्लाको कुल क्षेत्रफल १६१९.९२ वर्ग किमीमध्ये ८.९८ प्रतिशत भूभाग यसले ओगटेको छ । उपलब्ध स्रोतसाधनको समुचित सदुपयोग गरी विकास निर्माणका योजनाहरुलाई अगाडि सार्दै समृद्ध नगर बनाउने अभियानमा आफ्नो सहभागिता रहने उनको भनाइ छ । ‘यस नगरभित्र समस्या छ त्योसँगै प्रचुर संभावना पनि छ’ अधिकृत राई भन्छिन्,‘ नगरले त्यसको पहिचान गर्न सक्नु पर्छ ।’ पर्यटकीय गन्तब्यले भरिएको यस नगरपालिकामा पर्यटन व्यवसायको राम्रो संभावना रहेको बताउँदै उनले यसबाट नगरवासीको जीवनस्तर उकास्नुका साथै समृद्ध नगर बनाउन टेवा पुग्ने विश्वास ब्यक्त गरिन् । शिवसताक्षी नगरपालिका धार्मिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण क्षेत्र हो । यहाँ धार्मिक तथा साँस्कृतिक रुपमा प्रख्यात सताक्षीधाम, चिल्लागढ तथा सीताधारा रहेका छन् । साविक शिवगन्ज, सतासीधाम, पाँचगाछी र धरमपुर गाविस मिलाएर वि.सं.२०७३ मा शिवसताक्षी नगरपालिकाको गठन गरिएको हो । साविक शिवगन्ज गाविस र प्रसिद्ध धार्मिकस्थल सताक्षीधामको नामबाट यस नगरपालिकाको नामाकरण गरिएको हो । त्योसँगै अधिकांश बासिन्दा निर्भर रहेको कृषि क्षेत्रको व्यावसायिकरणमा जोड दिनुपर्ने उनको धारणा छ । शिवसताक्षी नगरपालिकाको कुल क्षेत्रफलको करिब ७८ प्रतिशत खेतीयोग्य जमिनले ओगटेको छ भने करिब १७ प्रतिशत जमिन वन जंगलले ढाकेको छ ।नगरपालिकाले अगाडि सारेको नगर गौरवका आयोजना सम्पन्न गर्नसके त्यसबाट नगरको मुहार परिवर्तन गर्न सकिने उनी बताउँछिन् । जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय तह संचालन गर्ने हुन् । जनप्रतिनिधिहरुलाई साथ र सहयोग गर्ने दायित्व कर्मचारीहरुको भएकाले त्यसप्रति सजग भएर कार्य सम्पादन गर्दै आएको उनको भनाइ छ । शिवसताक्षी नगरपालिकामा पहिलोपटक आएका बखत स्वागत गर्दै मेयर चन्द्र शेर्माले स्थानीय तहमा पहिलोपल्ट महिला प्रमुख प्रशासकीय अधिकृत भएर आएकोमा राईलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए । उनलाई हाल विश्वव्यापी महामारीमा रुपमा फैलिएको कारोना भाइरस रोकथामका बारेमा नगरले गरेको गतिविधिहरुको बारेमा नगर प्रमुख शेर्माले जानकारी गराएका थिए । नेपालको संविधानद्वारा व्यवस्थित नेपाल राज्यको पुनरसंरचनाअनुसार सम्पूर्ण नेपाल सात प्रदेश र ७५३ स्थानीय तहका सरकार संविधानप्रदत्त अधिकारसहित क्रियाशील छन् । नेपालको इतिहासमा पहिलोपल्ट स्थानीय सरकार वास्तवमै अधिकारसम्पन्न सरकारका रुपमा रहेको छ । यो अधिकारसँगै नतिजामूलक कार्यसम्पादन गर्नुपर्ने दायित्व पनि जोडिएको छ । यो दायित्व पूरा गर्न स्थानीय सरकारलाई आआफ्ना पालिकामा सञ्चालन गर्ने उपयुक्त र प्रभावकारी विकास योजना तर्जुमा गर्नु अपरिहार्य हुन आउँछ । स्थानीय तहमा जनअपेक्षित सेवा, सहकार्य र सहयोग गर्नेगरी आएको बताउने राईले भनिन्,‘शिवसताक्षी नगरपालिकामा रहुन्जेल जनतालाई अधिकतम् सन्तुष्टि दिने प्रयास गर्नेछु, यसका लागि मलाई सबैको सहयोग मिल्ने कुरामा बिश्वस्त छु ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्