भद्रपुर, साउन ४ ।संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुरले सदरमुकाममा सुरू गर्न लागिएको पठनपाठन सम्बन्धमा गम्भीर ध्यानाकर्षण गराउँदै प्याब्सन र एन प्याब्सनको असार ३१ गतेको निर्णय सच्याउन ध्यानाकर्षण पत्र बुझाएको छ ।

गएकै शैक्षिक वर्षको विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई दिइनु पर्ने पारिश्रमिक नदिइ प्याब्सन र एनप्याब्सनले साउन १ गतेबाट बेतलवी विदा दिने गरेको निर्णयको बिरोध गर्दै सदरमुकाम क्षेत्रमा सञ्चालन गरिन लागेको कक्षा विगतका सहमति कार्यान्वयन नगरी सुचारू नगर्न अनुरोध गर्दै इस्टुले भद्रपुर नगरपालिका तथा नगर प्याब्सनलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
नगर शिक्षा समितिका अध्यक्ष नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई बुझाइएको ध्यानाकर्षण पत्रमा नगर सचिव खिलनाथ पाण्डे निकास, उपाध्यक्ष विदुर ढुंगाना तथा अध्यक्ष द्रोण अधिकारीद्वारा संयुक्त हस्ताक्षर गरिएको छ । भद्रपुर नगर क्षेत्रमा सञ्चालनमा रहेका अधिकांस संस्थागत विद्यालयले शैक्षिक वर्ष २०७६ सालको दिनु पर्ने पारिश्रमिक रोकेका छन् ।

यसैगरी इस्टुले भद्रपुर प्याब्सन र एनप्याब्सनलाई जेठ ५ को सहमति कार्यान्वयन गर्न सुझाउँदै यस शैक्षिक वर्षको पठनपाठन सुचारूको निर्णयमा पुग्न ध्यानाकर्षण पत्र बुझाएको छ । प्याब्सन भद्रपुर नगर अध्यक्ष डिल्ली दुलाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा नगर सरकार, अभिभावक, शिक्षक कर्मचारी तथा विद्यार्थीको भावनामाथि प्रहार गर्ने काम अविलम्ब रोक्दै जिम्मेवार बन्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्