झापा,साउन १२ । पक्की घेराबारा नभएको कार्यालय परिसरमा बाँसको बार लगाइएको छ ।

भवनदेखि करिब १० फुट पर लगाइएको बार कार्यालयको सुरक्षाभन्दा पनि स्वास्थ्य सतर्कताका लागि हो । सेवाग्राहीको अनियन्त्रित भीड रोक्न बार लगाइएको हो ।
बारबाट एक पटकमा दुई तीन जनाभन्दा बढी सेवाग्राही भित्र पस्न पाइन्न । सेवाग्राहीलाई पालैपालो भित्र आउन भनिन्छ र द्रुत गतिमा काम गरी दिएर पठाइन्छ । कोरोना संक्रमणबाट वडाबासीलाई जोगाउन र आफूहरु पनि सुरक्षित रहन अस्थायी बार निर्माण गरिएको गौरादह नगरपालिका ९ का कार्यबाहक वडाध्यक्ष कृष्ण गौतमले बताए । उनले बारले कोरोना रोक्ने नभइ कार्यालयमा भीड रोक्ने बताए। ‘व्यक्ति–व्यक्तिलाई भनेर सम्भव नै हुन्न,जनताको काम रोक्न पनि हुँदैन ’ कार्यबाहक वडाध्यक्ष गौतमले भने,‘ भीड नहुने गरी काम गर्न र स्वास्थ्य सुरक्षाका लागि पनि बैकल्पिक उपाय अपनाइएको हो ।’ कार्यालयमा बार लगाएर जनतालाई दुख दिन खोजेको पटकै नभएको गौतमको भनाइ छ । ‘सबैमा त्रास छ तर व्यक्तिगत सुरक्षा र सतर्कतामा हामी बेपर्वाह छौँ ’ गौतमले भने ,‘अनिवार्य मास्क लगाएर मात्रै कार्यालय आउन भनेका छौँ, बारबाट प्रवेश गर्दैगर्दा मास्क प्रयोग गरेको छ कि छैन त्यो पनि हेरिन्छ ।’ सो वडा कार्यालयदेखि करिब दुई – तीन सय मिटरको दुरीमा क्वारेन्टाइन छ । अमर माविको भवनमा बनाइएको सो क्वारेन्टाइनमा ३२ जना बसेका छन् । वडासचिव राम दाहालले भने,‘ वडा कार्यालय नजिकै क्वारेन्टाइन भयो, अनियन्त्रित आवतजावत रोक्नु पर्छ भन्ने जनगुनासो आएपछि वडा कार्यालयमा अस्थायी बार लगाइएको हो ।’ कोरोना रोक्न बार लगाएको नबुझिदिन आग्रह गरेका सचिव दाहालले संक्रमणको अहिलेको विषम परिस्थितिमा कार्यालय जो कोही स्वाट्ट नआओस् भनेर बार लगाइएको हो । पालैपालो कार्यालय भित्र पस्न र भौतिक दुरी कायम गरेर बस्ने प्रवन्ध मिलाएको खरिदार केदारबाबु गिरीको भनाइ छ । कार्यालयमा रहेका चारवटा कोठाबाट एक पटकमा दुई जनाको काम गरिने गरेको छ । सो वडामा एकपटकमा आठ जनाको काम गर्ने व्यवस्था मिलाइएको सचिव दाहालले जनाए । पहिलाको झापाको बैगुनधुरा गाविसलाई गौरादह नगरपालिकामा गाभिएको हो । सिङ्गो गाविस नै एउटा वडामा रुपान्तरण भएकाले पनि सो वडामा सेवाग्राही चाप बढी नै हुने गरेको छ । कार्यालय परिसरमा भेटिएका सेवाग्राही गणेश भट्टराईले वडा कार्यालयले बार लगाएर ठिक काम गरेको बताए । ‘ अहिलेको बेला भीडभाडबाट जोगिनु नै पर्छ, वडाले गरेको काम नराम्रो भन्न मिल्दैन ’ भट्टराईले भने,‘ यति गरेर भए पनि भीड हुन नदिन वडाले उपाय निकाल्यो,यसले एकैचोटी धेरै मानिस कार्यालयमा पस्ने, भीड गर्ने समस्या न्यूनीकरण भएको छ ।’ नगरपालिकामा नै पहिलोपटक सोही वडाका दुई जना युवामा संक्रमण पुष्टि भएपछि स्थानीय त्रसित भएका थिए । सेवाग्राहीले नै वडा कार्यालयमा समेत भीडभाड हुने गरेको गुनासो गरेपछि बार लगाइएको हो । एउटा कामका लागि दुई तीन जना साथीभाइ मिलेर आउने गरेकाले पनि घेराबारा गर्नु परेको वडा सचिवको तर्क छ । काम विशेषले जाने सेवाग्राहीले वडा कार्यालयको सो कामलाई राम्रो नै मानेका छन्। यद्यपि, बारबाट निहुँरिएर कार्यालय जानु पर्ने बाध्यता हटाउन र हात धुने साबुनको राम्रो व्यवस्था गर्न समेत माग गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्