बिर्तामोड ,साउन २२ । काठमाडौं सरुवा भएर गएका एनएमबी बैंक बिर्तामोडका दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
गत शुक्रबार सरुवा भएर काठमाडौं गएका अधिकृतस्तरका ती दुई कर्मचारीमा मंगलबार संक्रमण पुष्टि भएको हो । बिर्तामोडबाट तीनजना सरुवा भएर गएकोमा दुई जनालाई संक्रमण देखिएको बैंकले जनाएको छ । बैंक कर्मचारीमा संक्रमण देखिएपछि बिर्तामोड शाखामा सम्पूर्ण सेवा बन्द गरिएको बैंकका बिर्तामोड इन्चार्ज मेघराज तिमल्सिनाले बताए । उनले आफूहरु सुरक्षित तवरले बैंकमा आएपनि सेवाग्राहीको कामकाज बन्द गरेको जानकारी दिए । बिर्तामोड नगरपालिकाले संक्रमित ती बैंक कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ शुरु गरेको छ । हिजो १२ जना बैंक स्टाफको स्वाब संकलन गरिएको र अन्य ६ जनाको लिन बाँकी रहेको तिमल्सिनाले बताए । बिर्तामोड क्षेत्रमा समुदायका ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ती संक्रमितहरुको सम्पर्कमा आएका एक हजार जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने लक्ष्य राखिएको नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए ।