शिवसताक्षी , साउन २३ । पछिल्लो समयमा शिवसताक्षीमा योगप्रतिको आकर्षण बढ्दै गएको छ ।

योगले विभिन्न रोगहरु निको हुने, रोग नै लाग्न नदिने, शरीर तन्दुरुस्त रहने भएकाले योगप्रतिको आकर्षण बढ्दै गएको हो ।
शारीरिक व्यायाम नभएकै कारण विभिन्न रोगहरु लाग्ने भएकाले त्यस्ता समस्याबाट मुक्ति पाउनका लागि योग निकै लाभदायक रहेको भन्दै योगलाई निरन्तरता दिनका लागि पतञ्जली योग समितिको नगर कार्य समितिको पुनर्गठन गरिएको छ ।
करिब ३ वर्षअघि शिवसताक्षी ७ ब्याङडाँडामा गठन भएको नगरस्तरीय समिति निष्क्रिय भएपछि पतञ्जली योग कार्यसमिति झापाका अध्यक्ष देवी घिमिरेको समन्वयमा शिवसताक्षी नगरस्तरीय पतञ्जली योग समिति गठन भएको हो ।
बाबुराम भट्टराईको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा पिताम्बर अधिकारी, महामन्त्रीमा शान्तिराम बस्नेत, संगठन मन्त्रीमा बिनोद खरेल र कोषाध्यक्षमा तिला कार्की चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा रमेश बराल, कुमार भट्टराई, धनकुमारी ओली, विजय दाहाल, चन्दा बस्नेत, पुष्पराज अधिकारी, हेमन्त भट्टराई, मेलिसा कार्की र अर्जुन भट्टराई रहेका छन् ।
कार्यक्रममा पतञ्जली योग समिति प्रदेश नं. १ का महामन्त्री लक्ष्मी काफ्लेले योग दीर्घकालिन चिकित्सा पद्दतिले औषधीले जस्तै तत्काल प्रतिक्रिया नदिएपनि दीर्घकालिन रुपमा फाइदा दिलाउने भएकाले युवा उमेरदेखि नै योग अभ्यास शिक्षा लिएमा पछिलाई फाइदा हुने बताए ।त्यस्तै जिल्ला अध्यक्ष देवीप्रसाद घिमिरेले भविष्यमा हरेक क्षेत्रमा युवाले नै सबै अभिभारा लिनु पर्ने भएकोले युवालाई योगप्रेमी बनाउन र योगका माध्यमबाट हरेक कर्ममा कुशलता मिल्ने र दैनिक योग गर्नाले मानसिक, आध्यात्मिक र शारीरिक समायोजनमा मद्दत पुग्ने भएकाले प्रत्येक पालिकास्तरमा समिति गठन तथा निष्क्रिय रहेका समितिलाई पुनर्गठन गरी योग अभ्यासका निम्ति लागिपरेको जनाए । हरेक बिहानको एक घण्टा आफ्नो शरिरको लागि समय छुटाउन समेत उनले अपिल समेत गरे ।
कार्यक्रममा पतञ्जली योग समिति, प्रदेश नं. १ का मन्त्री हरिबाबु दाहाल, जिल्ला महिला अध्यक्ष प्रेमकला निरौला, महिला महामन्त्री निर्मला गजुरेल, कमल योग समितिका अध्यक्ष कृष्णप्रसाद ओझा, सोसियल मिडिया प्रभारी झापाका उमानाथ भण्डारीको उपस्थिति तथा मन्तव्य रहेको थियो ।
समितिका पूर्व अध्यक्ष भीष्म ओलीले समयसापेक्ष चलाउन नसकिने भएकाले युवा जोशजाँगर भएकालाई समितिमा ल्याई नगरका कुनाकाप्चामा प्रशिक्षण दिने कुरामा विश्वस्त रहेको बताउँदैं पुनर्गठित समितिलाई शुभकामना दिएका थिए ।

योग शिविर बिहान ४ः३० बजेदेखि ६ः३० बजेसम्म सतासीधाम सामुदायिक अध्ययन केन्द्रको सभाहलमा विगत १५ दिनअघिदेखि सञ्चालन भइरहेको छ । सतासीधाम जेसीजको ७ दिन र सतासीधाम सामुदायिक अध्ययन केन्द्रको थप ८ दिन गरी १५ दिनसम्म योग शिविरले निरन्तरता पाएको हो । पतञ्जली नगर कार्य समिति शिवसताक्षीको आयोजनामा उक्त योग शिविरलाई निरन्तरता दिइने बताइएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्