दमक , साउन २६ ।झापाको दमकमा रहेको दमक हस्पिटल बन्द गरिएको छ ।

कोरोना संक्रमण पुष्टि भएका एक सशस्त्र प्रहरी हस्पिटलमा जाँच गराउन गएको खुल्न आएसँगै हस्पिटल बन्द गरिएको अस्पताल स्रोतले बताएको छ । उनी कोरोना परीक्षणको रिपोर्ट नआउँदै हिजो दिउँसो हस्पिटल गएका थिए । उनको दमक नगरपालिकाबाट स्वाब संकलन गरी बुधबार पिसिआर परीक्षणका लागि पठाइएको थियो । दमकबाट पठाइएका एक सय ७ जनामध्ये हिजो ४७ जनाको रिपोर्ट आएको थियो । जसमा उनको मात्र रिपोर्ट पोजेटिभ आएको हो ।
सोही दिन हस्पिटलमा जाँच गर्न उनी गएका थिए । साथीसँगै गएका उनले रूघा लागेको बताएका थिए । हस्पिटलका कार्यकारी निर्देशक तेजराज घिमिरेले यो विषम परिस्थितिमा पनि जनतालाई सेवा दिदैं आएकोमा सुरक्षा निकायका सदस्यले नै लापरवाही गर्नाले हस्पिटलले सेवा दिन नसक्ने बताए ।उनले कन्ट्याक्ट ट्रेसिङ्गको रिपोर्ट नआएसम्म सम्पूर्ण सेवा बन्द गरिएको जनाए ।
नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य सचिव कुवेर भट्टराईले ३–४ दिनमा उनको सम्पर्कमा आएका र हस्पिटलमा भेट गरेकाहरुको खोजी गरी तिनीहरु सबैको परीक्षण गरिने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्