भद्रपुर, साउन २६ । हल्दिवारी गाउँपालिकाको सातौं गाउँसभाको विवाद अध्यक्ष र उपाध्यक्षको आ—आफ्नै अडानका कारण मिल्न नसकेपछि गाउँपालिका सञ्चालन अन्योल बनेको छ ।

सातौं गाउँसभाको बैठकमा उपाध्यक्ष डँबरबहादुर गिरीले कानुनविपरित काम गरेकोले सच्चिन अध्यक्ष रविन्द्र लिङदेनले आग्रह गर्दा बहुमतमा रहेका उपाध्यक्ष पक्षले पूर्ववत अडान राखेपछि गाउँसभाको सोमबारको दोस्रो बैठक सञ्चालन हुन सकेन । सोमवार बस्ने भनिएको गाउँसभा बैठक सुरू हुनु अगावै अध्यक्ष लिङदेनले गणपूरक संख्या नपुगेको भन्दै स्थगित गरेपछि उपाध्यक्ष गिरीले जनताका भावनामाथि खेलवाड गरेको आरोप लगाएका छन् ।
अध्यक्ष्र लिङदेनले आफूमाथि साङ्घातिक आक्रमण गरी सातौं गाउँसभको पहिलोा बैठकबाट भगाएर उपाध्यक्ष गिरीले कानुनमा अध्यक्षले गर्न पाउने बजेट प्रमाणिकरणको अधिकार दुरूप्रयोग गरेकाले सच्याउनु पर्ने जिकिर गरेका छन् ।
तर गिरीले अध्यक्ष नभएका बेला कानुनले उपाध्यक्षलाई अध्यक्षताको अधिकार दिएको प्रष्ट पार्दै बहुमतले गरेको निर्णय कसैको जिद्धीमा नउल्टने दावी गरे । कार्यपालिका सदस्य तथा वडा नम्वर ४ का अध्यक्ष होम चुडाल भने अध्यक्ष र उपाध्यक्ष दुवैका कारण हलो अड्काएर गोरू चुट्ने काम भइरहेकाले आ—आफ्ना कमजोरी सच्याएर अविलम्ब गाउँसभा बैठक सम्पन्न गर्नु पर्ने जनाउँछन् । नागरिकका काम रोकेर रमिता देखाइनु विडम्बना हुने भन्दै वडाध्यक्ष चुडालले आफू जनताका समस्या हल गर्न वडाबाटै काम थाल्ने बताए ।
यस्तै वडा नम्बर १ का वडाध्यक्ष त्रिलोचन सापकोटा अध्यक्ष आफैँले बोलाएको बैठक प्रकृयागत रूपमा सुरू नै नगरी कोरम नपुगेको बहाना बनाएर स्थगन गर्नु बहुमतको अपमान भएको तर्क गर्छन् । वडाध्यक्ष सापकोटाले अध्यक्ष पदीय हैसियत र गरिमा जोगाउन असफल हुँदा नागरिकले हैरानी खप्नु परेको आरोप समेत लगाए ।
विभिन्न नमुना योजना ल्याएर गत वर्षसम्म चर्चामा आएको झापाको हल्दिवारी गाउँपालिका यो वर्ष विवादले चर्चामा आएको छ । आर्थिक वर्ष०७७–७८ को बजेट ,नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा अध्यक्ष लिङ्देन र उपाध्यक्ष गिरीको समूहबीच विवाद बढेर गएपछि गाउँपालिका चर्चामा आएको हो । विवादका कारण चालु आर्थिक वर्षको कामकाज ठप्प भएको छ ।
असार १० गते डाकिएको सातौं गाउँसभाका क्रममा दुवै पक्षको अहमताका कारण विवाद भएको थियो । अझै दुवै पक्षको अडान र अहमता कायम रहेकाले लिङदेनले साउन २६ गते दिनको १ बजेका लागि बोलाएको गाउँसभाको दोस्रो बैठक पनि स्थगित भएको छ । विवाद देखिएको पहिलो बैठकको प्रमाणीकरणका बारेमा गाउँपालिकाका अध्यक्ष लिङदेन र उपाध्यक्ष गिरीबीच कुरा नमिलिसकेका कारण दोस्रो बैठक स्थगित भएको हो

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्