झापा, साउन २८ । जन्माष्टमी पर्वको भोलिपल्ट भगवान श्रीकृष्ण जन्मेको खुसियालीमा हर्षोल्लासका साथ मनाइने दधिकाद पर्व यस वर्ष कोरोना महामारीका कारण खासै मनाइएन ।

हल्दिबारीमा आयोजित दधिकाद

आदिबासी समुदायले झापा, मोरङ र सुनसरीमा दधिकाद पर्व धुमधामले मनाउने गर्दछन् ।
आदिबासी समुदायका व्यक्तिहरुले भगवान श्रीकृष्णलाई मन पर्ने दही हिलोेमा मिसाएर त्यसमा नरिवल राखी दधिकाद खेल्ने चलन छ । द्वापर युगमा भगवान श्रीकृष्णको जन्म हुँदा ग्वालाहरुले दही खन्याएर खुसियाली मनाएको स्मरण गर्दै राजवंशी समुदायले दधिकाद खेल खेल्ने गर्छन् । कंशको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रुपमा अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । आदिबासी राजवंशीहरुले विगतका वर्षहरुमा विभिन्न स्थानमा दधिकाद खेल आयोजना गर्ने गरेका थिए । तर, यस वर्ष एक—दुई ठाउँबाहेक खासै कार्यक्रम भएन । गौरनन्द किर्तन मण्डलीले हल्दिबारी २ मा दधिकाद खेलको आयोजना गरेको थियो । कुनै औपचारिक कार्यक्रम नगरी परम्परा र संस्कृतिलाई जोगाउन मात्र खेल खेलाइएको किर्तन मण्डलीका सचिव खगेन राजवंशीले बताए । चतुरमान स्मृति खेल मैदानमा सो खेल आयोजना गरिएको थियो । खेलमा हल्दिबारी गाउँपालिकाभित्रका ३० जना खेलाडीको सहभागिता रहेको थियो । हेर्ने दर्शकहरुलाई टाढै राखेर खेल खेलाइएको हल्दिबारी २ का वडा सदस्यसमेत रहेका राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्