झापा , साउन ३० । कोरोनासँग मिल्दोजुदो लक्षण भएको बीएण्डसी हस्पिटलका दुईजना विरामीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

मेची प्रादेशिक अस्पताल भद्रपुरमा गरिएको पिसिआर परीक्षणमा दुवैको रिपोर्ट नेगेटिभ आएको हो । छाती दुख्ने समस्या लिएर झापा कनकाई नगरपालिका ३ का ४५ वर्षिय देवी बानियाँ तीन दिनअघि अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा आज मृत्यु भएको हो । त्यस्तै छातीकै समस्या लिएर सप्तरी राजविराजका कामेश्वर ठाकुर करिव ५ दिनदेखि अस्पतालमा उपचाररत छन् । दुवैमा कोरोनाको आशंका गरी स्वाब परीक्षणका लागि भद्रपुर पठाइएको थियो । दुवैको रिपोर्ट नेगेटिभ आएको बीएण्डसीका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।कोरोनाको आशंका गरिएको दुवैको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको मेची पिसिआर ल्याबका फोकल पर्सन जितेन्द्र झाले पनि पुष्टि गरे । प्रादेशिक प्रयोगशालाले आजदेखि मेची प्रादेशिक अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । गत सोमबारदेखि नै मेचीमा परीक्षण शुरु गरिएको थियो । मेचीको रिपोर्टलाई भेरिफिकेसनका लागि प्रादेशिक प्रयोगशाला पठाउने गरिएको थियो । झापाबाट पिसिआर परीक्षण शुरु भएसँगै परीक्षणको संख्या पनि बढेको छ । यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरबाट पिसिआर परीक्षण हुँदै आएको छ । प्रदेश १ मा आज २ हजार २ सय ५ जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २८ महिला र ६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्