झापा, भाद्र १ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना संक्रमित एक नर्सको परिवारका सदस्यहरुमा पनि संक्रमण भएको पुष्टि भएको छ ।

नर्सका परिवार धरान १६ स्थित अन्नपूर्ण चोकदेखि केही दक्षिण हारती अजिमा मार्गमा बस्छन् । परिवारका ४ जना सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । उनका अनुसार नर्सका बुवा, आमा, भाइ र छोराको पनि पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । एमआइसियुमा कार्यरत नर्सलाई संक्रमण देखिएको थियो । त्यसपछि उनको परिवारलाई पनि परिक्षण गर्दा पिसिआर पोजेटिभ आएको हो । ‘एक जना नर्स बहिनीलाई संक्रमण भएको थियो, अहिले उहाँको परिवारमा ४ जनालाई पनि संक्रमण भएको जानकारी आएको छ,’अध्यक्ष गिरीले भने । परिवारका अभिभावक (नर्सका बुबा)सँग सम्पर्क भएको पनि अध्यक्ष गिरीले बताए । उनका अनुसार हाल घरलाई सिल गरिएको छ भने सेनिटाइज गर्ने योजना पनि भइरहेको छ । साथै, वीपीमा बेड अभाव भएको र घरमा नै बस्ने चाहना राखेको हुनाले होम आइसोलेसनमा राख्नेबारे छलफल भइरहेको पनि अध्यक्ष गिरीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्