शिवसताक्षी, भाद्र १ । शिवसताक्षी नगरपालिकाको वडा नं ११ दूधेमा एक बाटो निर्माण समितिको कामको अनुगमन गर्न बनेको समितिका संयोजकसहित सदस्यहरुको किर्ते हस्ताक्षर गरी योजना सम्पन्न गरेको पाइएको छ ।

०७६ असार ३ गते दूधे शिवगञ्जको क्याम्ब्रिज बोर्डिङदेखि बच्चाबर जोड्ने बाटो निर्माणको काम अनुगमन गर्न बनेको अनुगमन समितिका संयोजक चन्दनबहादुर बस्नेतको किर्ते हस्ताक्षर गरी निर्णय पारित गरिएको माइन्यूट फेला परेको हो ।
०७६ सालको जेठ १० गते शिवसताक्षी ११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठको उपस्थितिमा उपभोक्ता समिति गठन गरी शिवसताक्षी नगरपालिकाको आ.व. ०७५÷०७६ को विनियोजित बजेटले योजना सम्पन्न गरिएको हो । उपभोक्ता समिति गठन गर्न बसेको भेलाले कति रुपैयाँको लागत हो भन्ने समेत नखुलाई सर्वसम्मत निर्णय गरिएको बताइएको छ । वडाध्यक्ष श्रेष्ठले उक्त छलफलमा गरिएको माइन्यूटमा समेत हस्ताक्षर गरेका छन् ।
सोही दिन बसेको भेलाले तीन सदस्यीय अनुगमन समिति गठन गरेता पनि समितिमा राखिएका तीनै जनाको सहमति र हस्ताक्षरबिनै उक्त समिति गठन गरेको समेत फेला परेको हो ।
त्यस्तै उक्त बाटोको उपभोक्ता समितिको ०७६ जेठ १३ गते बसेको बैठकको प्रस्ताव नं. २ मा योजनाको लागत इस्टिमेट गराउने सम्बन्धमा कति रकम बराबरको काम सञ्चालन गर्ने भन्ने नखुलाई प्राविधिक शाखामा निवेदन दिई योजना सञ्चालन गर्ने माइन्युट कपिमा उल्लेख छ । उक्त बैठकमा समेत वडाका वडाध्यक्ष श्रेष्ठले हस्ताक्षर गरेको भेटिएको छ । यसैगरी जेठ १७ गते बसेको बैठकले कहिलेदेखि काम सञ्चालन गरी कहिलेसम्ममा सम्पन्न गर्ने भन्ने समेत उल्लेख गरेको भेटिदैंन ।
यसैगरी उक्त उपभोक्ता समितिको ०७६ असार २ गते बसेको बैठकको निर्णयले योजनाको खर्च सार्वजनिक गर्ने भनी माइन्युट लेखिएको छ । उक्त बैठकमा आमन्त्रितका रुपमा उनै वडाध्यक्षले हस्ताक्षर गरेका छन् । तर, त्यस बाहेकका अर्का आमन्त्रित सदस्य भनिएका डम्बरबहादुर बस्नेत बैठकमा गएको पाइएको छैन । त्यहाँ उनको किर्ते हस्ताक्षर गरिएको छ । त्यस्तै अर्का आमन्त्रित सदस्य भनिएका सुनिल घिमिरेसमेत त्यहाँ नगएको पारिवारिक श्रोतले जनाएको छ । घिमिरेकी बहिनी सुजाता घिमिरेले दाजु त्यसबखत वैदेशिक रोजगारका लागि दमक प्राविधिक कक्षा लिन गएको बुझिएको पाइएपछि त्यहाँ पनि अर्को हस्ताक्षर समेत किर्ते गरिएको भेटिएको छ ।
यसैगरी, उक्त दिन बसेको बैठकमा सदस्य मानबहादुर कार्की तथा उपभोक्ताहरु रेनुका खतिवडा, पाण्डवप्रसाद घिमिरे, गौरादेवी घिमिरे, चन्दनबहादुर बस्नेतलगायतको किर्ते हस्ताक्षर गरी योजनाको आयव्यय सार्वजनिक गरिएको उपभोक्ता समितिको माइन्युटबाट खुलेको हो ।

कुनै पनि योजना सम्पन्न गर्नका लागि बैठकमा छलफल गरी कसलाई सो कार्य गर्न दिने , कतिमा ठेक्का लगाउने लगायतका विषयमा समितिको माइन्युट खातामा कतै पनि उल्लेख नभएको उपभोेक्ताहरुले दावी गरेका छन् । समितिको ५ वटा बैठकमा काम सम्पन्न गरी २ लाख रुपैयाँ भुक्तानी लिने भन्नेमात्र सर्वसम्मत निर्णय गरिएको भेटिएको छ ।
समितिका अध्यक्ष रहेका रामप्रसाद सुहाङ, सचिव प्रमिला थापा कटुवाल र कोषाध्यक्ष गोपालप्रसाद दाहालले काम सम्पन्न भइसकेको भन्दै रकम असुल उपर गरिदिने सम्बन्धमा सम्बन्धित वडा कार्यालयमा निवेदन दिएका छन् । निवेदनमा उनीहरुले उपभोक्ताहरुको जग्गाको आधारमा प्रतिफुट ८० का दरले उठाउने भनी निर्णय गरेको भनी लेखेता पनि त्यसप्रकारको निर्णय उपभोक्ता समितिको कुनै पनि बैठकमा लेखिएको छैन ।
यस विषयमा उपभोक्ता समितिका अध्यक्ष सुहाङले आफ्नो गल्ती लुकाउन सामान्य कुरालाई अनुगमन समितिमा रहेका ब्यक्तिहरुले उछालेको बताएका छन् । उनले चन्दनबहादुर बस्नेतलाई उपभोक्ता समितिमा बस्न भन्दा नमानेको र अनुगमन समितिमा राख्दासमेत नआएर असहयोग गरेको प्रतिक्रिया दिए । ’चन्दनबहादुरजीलाई हामीले उपभोक्ता समितिको अध्यक्षमा बस्न भन्यौं मान्नु भएन’ सुहाङले भने,‘अनुगमन समितिमा बस्दा पनि सहयोग गर्नु भएन ।’ ३६५ मिटर लम्बाई र २० फुट चौडाई भएको सो बाटोमा जनश्रमदान समेत लगाउनेगरी संझौता गरिएकोमा अनुगमन समितिमा रहेका बस्नेत परिवारले बाटोमा परेको आफ्नो जग्गाको रकम नदिएको उनले बताए । उनका अनुसार ८० रुपैयाँ प्रतिफुटका दरले बस्नेत परिवारले १० हजार ७०० रुपैयाँ दिनुपर्ने देखिन्छ ।तर चन्दनबहादुर बस्नेतले त्यस बाटोमा आफ्नो जग्गा नपर्ने बताएका छन् ।त्यस्तै अन्य केही उपभोक्ताहरुले पनि जनश्रमदानबराबरको रकम नदिँदा आफ्नो गोजीबाट ५२ हजार रुपैयाँ खर्च भएको र वडाध्यक्ष श्रेष्ठले आफै लागेर करिव एक लाख रुपैयाँ बराबरको ग्राभेलको अपुग काम गरिदिएर बाटो सम्पन्न गरिएको सुहाङले बताए । यस विषयमा चन्दनबहादुर बस्नेतसँग बुझ्दा शारीरिक अस्वस्थताका कारण समितिमा बस्न नसकेको तर असहयोग भन्ने कुरा नगरेको बताए ।अनुगमन समितिका सदस्यहरुको हस्ताक्षर किर्ते गरिएको र समितिका मानिसहरुले सहयोग नगरेको विषयले यतिबेला स्थानीय क्षेत्रमा चर्चा पाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्