दमक, भदौ ५ । झापाको दमकमा कोरोना संक्रमण देखिएको लगभग चार महिनापछि बल्ल आईसोलेसन निर्माण कार्य शुरु गरिएको छ ।

नगरपालिकाले दमक २ बेलडाँगीस्थित हङ्सेदुम्से बन क्षेत्रमा यसअघि रहेको शरणार्थी समन्वय इकाइ लगायत शरणार्थी गतिविधिसंग सम्बन्धित १४ कोठे पक्की भवनमा बिहीबारदेखि आईसोलेसन कक्ष निर्माण शुरु गरेको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार एकसाता भित्र त्यहाँ ३० शैय्याको आईसोलेसन निर्माण हुने छ । त्यस नजिकै यसअघिको सशस्त्र प्रहरी बेस क्याम्प बेलडाँगी १ रहेको स्थानमा भने स्वास्थ्य कर्मचारी तथा आवश्यक सुरक्षाकर्मी रहने ब्यवस्था मिलाउन लागिएको छ ।
त्यस ठाउँमा खानेपानी , बिजुली , शौचालय , स्नानगृह लगायतको ब्यवस्थापन गर्ने काम धमाधम भइरहेको छ । दमकमा कोरोना सङ्क्रमितहरु देखिन थालेको धेरै समय भएपनि स्थानीय सरकारलाई आफै आइसोलेसन कक्षको ब्यवस्थापन गर्ने अधिकार केन्द्र सरकारले करीब एक साता अघि मात्रै प्रदान गरेका कारण संक्रमितहरुको उपचारका लागि स्थानीयस्तरमा ब्यवस्थापन गर्न ढिलाइ भएको बताइएको छ । दमकमा आईसोलेसन कक्षको अभावमा कतिपय संक्रमण पुष्टि भईसकेकालाई पनि आइसोलेसन अभाव हुँदा घरमै बसेर चिकित्सकले आवश्यक स्वास्थ्य परामर्श सेवा समेत प्रदान गर्दै आएको स्वास्थ्य शाखाका कुबेर भट्टराईले बताए । उनका अनुसार दमकमा होम क्वारेन्टाइन र क्वारेन्टाइनस्थलमा बनाइएका आईसोलेसनमा कुल २२ जना छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्