झापा , भदौ ६ । कोरोना भाइरसको महामारीका कारण भारतसँगको सीमा बन्द गरिएपनि तस्करी रोकिएको छैन । भारतबाट लुकाईछिपाई अबैध रुपमा सामान ल्याउने क्रमबाट तस्करी बढेको पुष्टि भएको छ ।

सीमामा सुरक्षाकर्मी खटाइएपनि अबैध ओसारपसार जारी रहेको छ । प्रहरीले बरामद गरेका सामानबाट तस्करीको क्रम बढेको देखिएको हो । झापा प्रहरीले साउन महिनामा भारतबाट ल्याउँदै गरेको ५३ लाख ९ हजार ५ सय मूल्य बराबरको अबैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले निकालेको तथ्यांक अनुसार साउन महिनामा लताकपडा १० लाख ९१ हजार ८७० , किराना सामान २३ लाख २ हजार ६० ,विद्युतीय सामान २ लाख ९ हजार ५ सय,सवारी पाटपूर्जा १ लाख ६३ हजार र अन्य सामान ३८लाख २१ हजार ९ सय रुपैयाँ बराबरको बरामद भएको हो ।ती सामानहरुलाई भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।त्यस्तै नेपालबाट भारततर्फ चौपाया तस्करी पनि रोकिएको छैन । नेपालबाट भारततर्फ लाँदै गरेको ९ वटा चौपाया प्रहरीले बरामद गरेको छ । बरामद गरिएका चौपायामा गाई २ र ७ बाछाबाछी रहेका छन् । बरामद गरिएका चौपायामध्ये गाईलाई गौशाला र तस्करसहित गोरुहरुलाई मेची र भद्रपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायव उपरीक्षक थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्