झापा भदौ, ८ । फ्रन्ट लाइनमा बिरामीको उपचारमा खटिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् । कोरोना संक्रमित र अन्य बिरामीहरुको उपचारमा खटिएका नर्सहरुलाई प्रतिष्ठानले स्वास्थ्य सामग्रीबिना डिउटीमा खटिन बाध्य पारेको भन्दै सोमबारदेखि आन्दोलित भएका हुन् ।

प्रतिष्ठान भर्ना भएका बिरामीको उपचारमा खटिँदा स्वास्थ्य प्रोटोकल अनुसारका स्वास्थ्य सामग्री उपलब्ध नगराएको र नर्सहरुको सुरक्षामा चासो नदेखाएका कारण बाध्य भएर आन्दोलित हुनु परेको प्रतिष्ठानको आइसीयू विभागमा कार्यरत त्रिवेणी ढकालले गुनासो गरिन् । फ्रन्ट लाइनमा बिरामीको उपचारमा खटिएका नर्सहरुलाई प्रतिष्ठान व्यवस्थापन पक्षले पीपीइ, पन्जा र माक्स समेत नदिएको उनको गुनासो छ ।

सोमबार मात्रै प्रतिष्ठानको आइसीयूमा उपचाररत आठजना बिरामीको कोरोना पुष्टि भएको छ । कोरोना पोजिटिभ देखिएका बिरामीको उपचारमा संलग्न नर्सलाई क्वारेन्टाइनमा नपठाइ सिधै डीउटीमै खटाएपछि नर्सहरु आन्दोलित भएका हुन् । संक्रमितको कन्ट्रयाकमा रहेकाहरुको पीसीआर चेक गरी तत्काल क्वारेन्टाइन पठाउनुपर्ने भएपनि प्रतिष्ठानले डिउटीमा नै खटाएपछि अन्य बिरामी र आफ्नो सुरक्षाका लागि आन्दोलित हुनु परेको अर्की नर्स स्मेरिका घिमिरेले बताइन् ।

कोरोना संक्रमितको उपचारमा संलग्न नर्सहरुलाई अन्य बिरामीको उपचारमा खटाउँदा संक्रमण फैलने भएकाले आफूहरु सचेत भएर क्वारेन्टाइनमा पठाउन माग गर्दा वेवास्था गरेको प्रतिष्ठाकी अर्की नर्स सारजु राईले बताइन् । प्रतिष्ठानको आइसीयू, एमआइसीयू, प्रसूति वार्ड, मेडिसिन वार्डमा भर्ना भएका बिरामीलाई समेत कोरोना देखिएपछि स्टाफ नर्सहरुमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रतिष्ठानमा हालसम्म दर्जन बढी स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भइसकेको छ । प्रतिष्ठानले उच्च सावधानी स्वास्थ्यकर्मीहरु संक्रमित हुन थालेका छन् । बिरामीको उपचारमा संलग्न डाक्टरलाई क्वारेन्टाइनको व्यवस्था गरेपनि नर्सलाई भने क्वारेन्टाइनको व्यवस्था नगरी विभेद गरिएको आन्दोलित नर्सहरुले बताए । प्रतिष्ठान अस्पताल निर्देशक डा. गौरीशंकर साहले आर्थिक शंकटका कारण नर्सहरुलाई भनेअनुसारको स्वास्थ्य सामग्री उपलब्ध गराउन नसकिएको बताए । उनले कोरोनाका कारण प्रतिष्ठानको ओपीडी सेवा बन्द गर्नुपरेकाले दैनिक ५० लाख घाटा बेहोर्नु परेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्