भद्रपुर, भदौ ८ । तस्करीका लागि सहज नाका बन्दै गएको दक्षिणी झापाको कचनकवल ५ स्थित पाठामारीमा गएराति स्थानीयले अबैध कपडासहित ३ व्यक्तिलाई सशस्त्र प्रहरी सीमा सुरक्षा बलको जिम्मा लगाए पनि तस्करीमा संलग्नलाई विनाकारवाही छोडिएको छ ।

बन्दाबन्दी सुरू भएयता पाठामारी नाकाबाट दैनिक लाखौँ मूल्य बराबरको सामान नेपाल भित्रिन थालेपछि केही स्थानीयले चासो देखाएर प्रहरी प्रशासनलाई सहयोग गर्न थालेका छन् । पाठामारीमा रहेको सशस्त्रको फर्वाड वेस र प्रहरी चौकीबाट गएको प्रहरीलाई कपडासहित स्थानीयले नियन्त्रणमा लिएका अजय यादव र चिआरु यादवलाई प्रहरीको जिम्मा लगाएका थिए भने भारतीय कारोबारी अर्जुन हलुवाइ भारततर्फ भागेका थिए । यादवद्वय सोही ठाउँका बासिन्दा हुन् । उनीहरू गोसखुवा उपनामले चिनिने राप्रपाका स्थानीय नेतामार्फत अबैध कारोवारमा संलग्न रहेको स्थानीयको भनाइ छ ।
घट्नापछि स्थानीय केही युवाहरूले ‘हामी नआएसम्म मानिस नछाडनु ’भन्दै प्रहरीलाई जिम्मा लगाएका थिए । कपडासहित मानिसलाई सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट केचना पठाएका थिए । तर उनीहरूलाई वडा नम्बर ५ का वडाध्यक्ष महेशलाल गणेशको रोहवरमा छाडिएको छ ।
प्रहरीबाट छुटेका उनीहरूले राति नै गाउँमा गएर ‘सामान समाउने तिमीहरू को हौ ’भन्दै धम्काएको स्थानीयको भनाइ छ । तस्करीमा सहयोग पुर्याएको भन्दै पाठामारीमा कार्यरत जनपदका सई सुमेन्द्र विश्वकर्मा र सशस्त्रका इन्स्पेक्टर आनबहादुर गुरुङ्लाई केही दिनअघि जिल्लाले फिर्ता बोलाएको थियो । कपडासहित समातिएका व्यक्ति मजदुरी गर्ने भएकाले उनीहरूलाई आफ्नो जिम्मामा छुटाएको वडाध्यक्ष गणेशको भनाइ छ । कपडा मात्र बरामद भएको सशस्त्र प्रहरी केचनाका इन्स्पेक्टर भक्तबहादुर थापाले जनाए । तीन पोकामा रहेको कपडा ३९ हजार ५ सय ५० रुपैयाँ मूल्याङकन गरी सोमबार भद्रपुर भन्सारमा बुझाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्